धम्पुस र बेलायतको ब्रेकन सिटीवीच शिक्षाको क्षेत्रमा सहकार्य हुने
माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ धम्पुस र बेलायतको बयल्स राज्यको ब्रेकन सिटीवीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
धम्पुसबाट यधुनाथ अधिकारी सहितको टोली उक्त सिटीमा भ्रमणमा पुगेको छ । भ्रमणका दौरान शैक्षिक अनुभव आदानप्रदान गर्ने बारे छलफल भएको छ ।
भ्रमणका दौरान भर्खर निर्वाचित मेयर काउन्सिलर अन माथियज, पूर्व मेयर, उपमेयर लगायतले स्वागत गर्नुभएको बेलायतबाट भ्रमण टोलीमा रहनुभएकी सरु अधिकारीले जानकारी दिनुभयो ।

भगिनी सम्बन्ध स्थापनाका लागि संयोजन गर्नुभएका मेजर खुशीमान गुरुङ, समितिका अन्य पदाधिकारी, ब्रेकन धम्पुस भगिनी सम्बन्ध समितिका कोषाध्यक्ष यदुनाथ अधिकारी लगायतले नवनिर्वाचित मेयरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
टिम लिडर यदुनाथ अधिकारीले नेपालमा बेलायतमा रहेका ज्ञान, सीप र प्रविधिको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कृषि, जलविद्युत तथा अन्य उद्योगमा लगानीका लागि साथै नेपाल भ्रमण बर्ष २०२०मा पाहुनाका रुपमा नेपाल अनि धम्पुसमा आगमनका लागि निम्तो समेत गर्नुभयो ।
मेजर खुशीमान गुरुङले धम्पुस र ब्रेकन सिटीवीचको भगिनी सम्बन्धलाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।

सोही सिटीमा बसोबास गरी होटल व्यवसाय सञ्चालन गर्नुभएका समाजसेवी गुरुङले भगिनी सम्बन्धलाई दुवै पक्षबाट सफल बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सो अवसरमा शिक्षा, स्वास्थ्य, कला, संस्कृति वातावरण लगायतका क्षेत्रमा सहयोग आदान प्रदान गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

