विजयपुरकाे डाइभर्सनमा बाढीले पुनः क्षति, मालवाहक सवारी आवागमन बन्द
पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा साेमबार राती बाढी आउँदा डाइभर्सनमा पुनः क्षति पुगेकाे छ । डाइभर्सनमा क्षति पुग्दा मालवाहक सवारी आवागमन बन्द भएको छ ।
आइतबार राती आएकाे बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि विहान नै मर्मत गरी सञ्चालनमा आएकाे डाइभर्सनमा साेमबार रातीकाे बाढीले पुनः क्षति पुर्याएकाे हाे ।

आइतबार रातीकाे बाढीले गर्दा डाइभर्सनभन्दा माथिसम्म बाढी आउँदा मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।
विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेपछि मात्र सवारी आवागमन सूचारु हुन सक्ने बताइएकाे छ । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे थियाे ।
अहिले भने ह्युम पाइप नबगाए पनि डाइभर्सनमा भने क्षति पुगेकाे छ ।
विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

