१५ औं संस्करणको लेखनाथ महोत्सव सम्पन्न
१५ औं संस्करणको लेखनाथ महोत्सव सम्पन्न भएको छ । पुस ५ गतेदेखि पोखरा महानगरपािलकाको लेखनाथ तालचोकमा आयोजित महोत्सव सोमबार समापन गरिएकोहो । १२ दिनसम्म चलेको महोत्सवमा अपेक्षित दर्शकको संख्या र आर्थिक कारोबार हाँसिल भएको आयोजकले जनाएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि’ नाराका गरिएको महोत्सवमा करिव तीन लाख ५० हजार दर्शकले अवलोकन गरेको र करिव १८ करोड वरावरको आर्थिक कारोवार भएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिनुभयो ।
तीन लाख दर्शक र १५ करोड वरावरको आर्थिक कारोबार हुने अनुमान आयोजकको थियो । संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले महोत्सवमा स्थानीय संघसंस्था, सरकारी निकाय, सुरक्षाकर्मी र सञ्चारमाध्यमको सहकार्य र सहयोग रहेको उल्लेख गर्नुभयो ।
महोत्सव समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई देश विदेशमा चिनाउनमा सहयोग मिलेको उल्लेख गर्नुभयो । उहाँले उत्पादक र उपभोक्तालाई एउटै थलोमा जम्मा गरी स्थानीय उत्पादनलाई बजारीकरण मेला महोत्सवले सहयोग पुग्ने बताउनुभयो । सुन्दर पोखरालाई समृद्ध बनाउन आफूहरु लागिपरेको भन्दै मेयर जिसीले निजी क्षेत्र र आम नागरिकले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जिव बहादुर कोइराला, मादी गाउँपालिकाका अध्यक्ष बेदवहादुर गुरुङ श्याम, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, सम्पूर्ण महिलाहरुको तर्फबाट जानुका अधिकारी, संघका महासचिव भरतकुमार अधिकारी र प्रथम उपाध्यक्ष छत्रधर आत्रेय लगायतले सम्बोधन गरेका थिए ।
निशान बराललाई गण्डकी ताराको उपाधि
लेखनाथ महोत्सवको मुख्य आकर्षण गण्डकी ताराको उपाधि पोखरा ३० का निशान बरालले हात पार्नुभएको छ । लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत गायन विधामा गण्डकी तारा प्रतियोगिता अन्तर्गत बराल गण्डकी तारा २०७५ हुनुभएको हो ।
द्वितीयमा पोखरा १० का राम गुरुङ, तृतीय पोखरा ५ का वसन्त थापा र सान्त्वना चितवनका खुसी परियार भएको प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिनुभयो ।
रत्यौलीमा आवासनगर आमा समूह प्रथम
रत्यौली गीत प्रतियोगितामा आवासनगर आमा समुह पोखरा २७ प्रथम भएको छ भने नमुना कृर्षक आमा समूूह पोखरा २६ द्वितीय, खराने ताजा तरकारी कृषक समूह पोखरा २७ तृतीय र अन्नपूर्ण आमा समूह पोखरा ३२ ले सान्त्वना स्थान हासिल गर्न सफल भएको हो ।
महोत्सवमा राखिएको झाँकी ¥याली प्रदशनीमा तमु प्हेल्हु संघ स्याङ्जाली तमु समाज प्रथम, नेपाल मगर संघ सैनिकबस्ती ईकाइ समिति द्वितीय, नेपाल मगर संघ बुढिबजार ईकाइ समिति तृतीय र सिशुवा नेवाः खल सान्त्वना भएको छ ।

