राष्ट्रपति भण्डारी चार दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारी म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरे। राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्धिपक्षीय भेटवार्ता गर्ने छन्। म्यानमारका स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आगामी कार्तिक ६ गते बुधबार बेलुका साँढे ८ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी सरकारी कार्यालय शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुग्नु भएको थियो ।
यसअघि सडकमार्गबाट एयरपोर्ट आउँदा जाँदा सर्वसाधारणको यात्रा प्रभावित भएपछि आलोचना भइरहेका बेला सुरक्षा निकायले राष्ट्रपतिको इच्छा अनुरुप उहाँलाई महाराजगञ्जबाट हेलिकोप्टरमा त्रिभुवन विमानस्थल र्पुयाएको हो। राष्ट्रपतिको कार्यालयका अनुसार नागरिकको गुनासोलाई ख्याल गर्दै पहिलो पटक यस्तो अभ्यास गरिएको हो।

