रवि पत्नी निकिताकाे जाहेरी दर्ता भएन
प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलकाे जाहेरी दर्ता गर्न अस्वीकार गरेकाे छ ।
पाैडेलले भिडियाे सामाग्री किर्ते गरेकाे भन्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशाेर श्रेष्ठ, पत्रकार संकेत काेइराला र चितवन प्रहरी प्रमुख दानबहादुर मल्लकाे विरूद्धमा जाहेरी दर्ता गर्न खाेजे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेकाे हाे ।
तीन जना विरुद्ध जाहेरीका लागि दिएको निवेदन फिर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार क्षेत्राधिकार नपर्ने भएकाले जाहेरी अस्वीकार गरिएको हाे । प्रहरी श्राेतका अनुसार अनुसन्धानमा नै प्रत्यक्ष संलग्न अधिकृत र पत्रकार विरूद्धकाे जाहेरीले अनुसन्धानलाई पार्न सक्ने भएकाले पनि जाहेरी दर्ता नभएकाे हाे ।
निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज डटकमका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरीका लागि निवेदन दिनुभएकाे थियाे ।
शालिकराम गत साउन २० गते चितवनको नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
पुडासैनीकाे आत्महत्या प्रकरणामा दुरुत्साहन गरेको अभियोगमा पत्रकारद्वय रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

