सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माणबारे छानविन हुने
सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माणबारे अध्ययन गर्न ३ सदस्यीय टोली गठन गरेको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले ३ वर्षभित्रसक्ने लक्ष्यसहित २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा सुरु भएको भवन निर्माण अलपत्र रहेकाेबारे छानविन गर्न समिति गठन गरेकाे हाे ।
छानविन समितिमा सांसदहरु अञ्जना विशंखे, एकवाल मियाँ र सरिता न्यौपाने रहेका छन् । समितिले अध्ययन सकेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
समितिका सभापति जयपुरी घर्तीका अनुसार समितिले यसअघि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शहरी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग भवन निर्माण ढिलाइबारे जवाफ लिने काेशिस गरेपनि यथेष्ट जानकारी पाउन सकेकाे थिएन ।
समितिले बुधबार त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेती, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डिन जगदिश अग्रवाल शिक्षा र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो ।

