पोखरा थिएटर तेस्राे वर्षमाः फागुन ९ गतेबाट ‘यो कस्तो महाभारत’ मञ्चन हुने
पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दूई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा थिएटरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा सहभागी बत्ताहरुले पोखरा थिएटर सञ्चालन भएपछि पोखराको रंगमञ्चले राष्ट्रिय स्तरमानै तरगं ल्याएको बताए । गण्डकी प्रदेशमा सञ्चालनमा रहेको एकमात्र थिएटर भएको कारण पनि यहाँको कला संस्कृतिलाई जगेर्ना गर्न यसले महत्वपुर्ण भुमिका खेलेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व कुलपति साहित्यकार सरुभक्त श्रेष्ठले थिएटरको दिगोपनाको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
छोटो समयमा सुस्ताएको पोखरेली रंगमञ्चलाई चलायमान बनाउन थिएटर सफल भएको उहाँको भनाई थियो । वरिष्ठ संस्कृतिकर्मी तिर्थ श्रेष्ठले पोखरा थिएटरमा हुने विभिन्न गतिविधिका कारण पोखराको साहित्य, कला र संस्कृतिलाई जोगाउन मद्दत पुगेको बताृउनुभयो ।
साहित्यकार प्रकट पंगेनी शिवले पोखरा थिएटर सञ्चालनमा आएपछि पुनः आफु रंगमञ्चमा फर्कन पाएको र अभिनय गर्ने जोश अझै बाँकी रहेको बताउनुभयो ।
आख्यानकार कुमार नगरकोटीले पोखराको रंगमञ्चको बारेमा रंगकर्मी अनुप बरालसँग बारम्बार कुरा हुने गरेको बताउनुभयो ।
पोखरा थिएटरको औपचारिक उद्घाटन २०७४ फागुन २ गते भएकोे थियो । दूई वर्षको वर्षको अवधिमा यहाँ विभिन्न ४७ वटा नाटक मञ्चन भए । पहिलो वर्ष २३ र दोस्रो वर्ष २४ वटा नाटक मञ्चन भएका थिए । जसमध्ये पोखरा थिएटरको आफ्नै प्रस्तुतीका १० नाटक मञ्चन भएका थिए ।
यसैबिच पोखरामा आगामी फागुन ९ गतेदेखि नाटक ‘यो कस्तो महाभारत’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीमा थिएटर स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा मञ्चन हुन लागेको हो ।
जसको लागि तयारी भइरहेको थिएटरले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाएको छ ।

