ऋषि पञ्चमीः सप्त ऋषिको पूजा आराधना गरी मनाइंदै

हिन्दु धर्मावलम्वी महिलाहरूका लागि ऋषि पञ्चमी महत्वपूर्ण दिन । हरेक भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी हिन्दु धर्म मान्ने नेपाली नारीहरुले विशेष रूपमा मनाउँदैछन् ।

अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइने यस पर्वमा महिलाले बिहान सबेरै उठेर स्नान गरी हरितालिका व्रतकाे विधिवत समापन गर्दछन् । जसका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन ।

रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

रजस्वला भएकाहरूले पहिलाेपटककाे ऋषि पञ्चमीमा विशेष पुजा गर्नुपर्ने मान्यता रहेकाे छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ।

यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुने धार्मिक मान्यता रहेकाे छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गर्ने गरिन्छ ।

ऋषि पञ्चमीको पूजा लगाउने भनेर चर्चित यसदिन सप्तऋषिकाे पुजा गर्ने प्रचलन छ । आज मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

Facebook Comments