गण्डकी विश्वविद्यालय स्थापनाका लागि बाटाे खुल्याे

गण्डकी प्रदेशमा गण्डकी विश्वविद्यालय स्थापनाका लागि बाटाे खुलेकाे छ ।

प्रदेशसभा बैठकबाट गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित भएकाे छ ।

सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनद्वारा विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । यसअघि विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले एकात्मक सामन्तीराज्य व्यवस्थाबाट अघि बढ्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गरेको अवस्थामा प्रदेशको आफ्नै विश्वविद्यालय आवश्यक महसुस गरी उक्त विधेयक ल्याइएको बताउनुभएकाे थियाे ।

गण्डकी प्रदेश विश्वविद्यालयलाई सबैले गौरव गर्ने किसिमको बनाइने बताउँदै शैक्षिक गुणस्तरीयता एवं अनुसन्धानात्मक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।

अर्का सदस्य मेखलाल श्रेष्ठले देशमा भएका अन्य विश्वविद्यालयले अपेक्षाअनुरुप प्रतिफल दिनसकेकोे वा नसकेको सम्बन्धमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।

पूर्वाधारको अभाव, कुन विषय पढाउनेजस्ता कुरा तय भइनसकेको अवस्थामा विश्वविद्यालय खोल्ने कुरा केवल कागजमा मात्रै सीमित हुने हो की भन्ने आशङ्का देखिएको उहाँकाे भनाइ थियाे ।

सांसद मीनप्रसाद गुरुङले सङ्घीयता कार्यान्वयनको विषय प्रत्यक्ष रुपमा विश्वविद्यालयसँग जोडिएको बताउनुभयाे ।

यसैवीच सांसद दीपक कोइरालाले चाडवाड नजिकिँदै गर्दा हुनसक्ने महङ्गी एवं कालोबजारीप्रति बेलैमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

Facebook Comments