पाेखरा एअरपाेर्टमा सिचुवान एअरलाइन्सकाे पहिलाे अन्तर्राष्ट्रिय उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सिचुवान एअरलाइन्सले पहिलाे अन्तर्राष्ट्रिय उडान भरेकाे छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडानका लागि पाेखरा प्रस्थान गरिसकेकाे छ ।
चीन बाट आउने चार्टर उडानलाई ९:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न र भारतीय राजदूतावासले आयोजना गरेको ९ औं अन्तर्राष्ट्रिय योग दिवसमा बिहान ७:३० बजे पोखरा रंगशालामा सहभागी हुन पर्यटनमन्त्री सुदन किराँती पाेखरा पुग्नुभएकाे छ ।
उहाँले पाेखराका होटलहरूमा पर्यटकले खचाखच भएको सुन्न पाएँकाे भन्दै खुसी व्यक्त गर्नुभएकाे छ ।
सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिनुभयाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय भएकाे छ ।

उक्त जहाजबाट हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।
जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने छन् । उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।
अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै हुँदै आएको छ ।

