अक्सफोर्ड कलेजले १३ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने
नवलपरासीको गैडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टले पूर्ण छात्रवृत्ति सहितको नयाँ कार्यक्रम ल्याएको छ । गरिब, जेहेनदार, पिछडिएको वर्ग द्धन्दपिडित, आर्थिक स्थिति अत्यन्त बिपन्न भएका बिद्यार्थीलाई बिभिन्न ४ बिषयमा पूर्ण छात्रवृत्तिको ब्यवस्था गरिएको अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीले जानकारी दिनुभयो ।
प्रिन्सिपल भण्डारीका अनुसार इलेक्ट्रिकल इन्जिनियरिङमा ५ जना, बि.सि.ए मा ५ जना, सिभिल इन्जिनियरिङमा २ जना र बि.बि.ए मा १ जनालाई छात्रवृत्ति दिइने छ । छात्रवृत्तिको लागि बिद्यार्थीले यहि पुस २० गतेसम्म फारम भर्न सक्नेछन् । फारम भरेका बिद्यार्थीको घरमा नै गएर सम्पूर्ण जानकारी लिएर मात्र छात्रवृत्ति दिइने कलेज प्रशासनले जनाएको छ ।
पूर्ण छात्रबृत्ति प्राप्त गरी अध्ययन गरेका बिद्यार्थीले स्नातक तह सकेपछि कलेजलाई केही समय सेवा प्रदान गर्नुपर्ने प्रावधान रहेको छ । यस्ता कार्यक्रमले समाजमा धेरै प्रभाव पार्ने कलेजले विश्वास लिएको छ ।

