नवौं पोखरा महोत्सवमा समन्वयका साथ सुरक्षा व्यवस्था मिलाइने

नवौ पोखरा महोत्सवको सुरक्षा सवालमा कास्कीका क्रियाशील सुरक्षा निकायसँग छलफल गरिएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ८ गते सम्म अमरसिंह चौरमा हुन लागेको पोखरा महोत्सवलाई भब्य र सभ्य सहित सुरक्षित रुपमा महोत्सव सञ्चालन गर्न कास्कीमा रहेका चारवटै सुरक्षा निकायले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पन्न भेलामा उपस्थित कास्कीका चार वटै सुरक्षा निकायले पोखरा महोत्सवलाई भब्य र सभ्य सहित सुरक्षित रुपमा सम्पन्न गर्न आयोजक संग सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता जनाएका हुन ।

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले महोत्सवलाई सुरक्षित तवरले सञ्चालन गर्नका लागी कास्की प्रशासनको सहयोग रहने बताउनुभयो । महोत्सवमा भीडभाड वढी हुने भएकाले सुरक्षा निकायसंग समन्वय गरेर अगाडी वढ्न समेत आयोजक युनाइटेड क्लवलाई उहाँको सुझाव थियो ।

सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले महोत्सवको सुरक्षामा कास्कीका सम्पूर्ण सुरक्षा निकायले समन्वय गरी पूर्ण रुपमा सुरक्षित बनाउने उल्लेख गर्नुभयो । नवौ पोखरा महोत्सव विद्युतिय सुरक्षा उपसमिती संयोजक तथा स्काइलिंक प्रालिका सञ्चालक राजेन्द्र तिवारीले महोत्सवमा हुने गतिविधी र सुरक्षालाई मध्येनजर गरी महोत्सव स्थल परिसरलाई पूर्णरुपमा सिसि क्यामेराद्धारा निगरानी राखिने जानकारी दिनुभयो ।

त्यस्तै निजी सुरक्षा कम्पनीको जिम्मा पाएको जेट सेक्युरिटी प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्ण प्रसाद सुवेदीले महोत्सवमा निजी कम्पनीको तर्फबाट २० देखी ३० जना सुरक्षा गार्ड उपलब्ध गराइ सुरक्षा निकाय संग समन्वय गरी महोत्सवको सुरक्षा ब्यवस्था मिलाइने जानकारी दिनुभयो ।
ट्राफिक ब्यवस्थापन उपसमिती संयोजक राम बहादुर थापा मगरले महोत्सवमा उचित पार्किङको ब्यवस्था मिलाइएकाले कुनै पनि किसिमको बाधा उत्पन्न नहुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै स्वयंसेवक परिचालन उपससमिती संयोजक विष्णुकुमार गुरुङले महोत्सवलाई सुरक्षित बनाउनका लागी करिव २५ देखि ३० जना स्वयंसेवकहरु परिचालित हुने जानकारी दिनुभयो । महोत्सवको सम्पूर्ण सुरक्षा ब्यवस्थाको बारेमा सुरक्षा ब्यवस्थापन उपसमिती संयोजक सूर्य बानियाले जानकारी गराउनुभएको थियो । महोत्सवको उद्देश्यमाथी क्लवका प्रथम उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिती संयोजक राजु श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।

Facebook Comments