अमेरिकामा बजेट विवाद बढ्दो, सभामुखको अफगानस्थान भ्रमण रद्द
अमेरिकी संघीय कार्यालयहरु बजेट अभावमा बन्द भएको महिना दिन पुग्न लागेको छ । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गराउनुभएको छ । उहाँले सरकारी बजेटमा अफगानस्थानको भ्रमण गर्न लाग्नुभएकी विपक्षी दलकी नेता समेत रहनुभएकी न्यान्सी पेलोसीको भ्रमण रद्द गर्नुभएको हो ।
यसका साथै राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग गरे पनि विपक्षी डेमोक्र्या्टिक पार्टीले त्यसलाई अस्वीकार गरेसँगै राष्ट्रपति र विपक्षी डेमोक्र्या्टिक पार्टीबीच विवाद चुलिएको छ ।
पर्खाल निर्माण बाहेकको बजेट पारित गर्न विपक्षी डेमोक्र्या्टिक पार्टी तयार रहे पनि पर्खालसहितको बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने राष्ट्रपति ट्रम्पको अडान छ । दुबै पक्षको यही अडानका कारण बजेट अभावमा केन्द्रीय स्तरका धेरै संघीय कार्यालयहरु प्रभावित भएका छन् ।
संघीय कार्यालयहरुमा कार्यरत करिब ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् । कतिपय कर्मचारीलाई बेतलबी घर बिदामा पठाइएको छ । झण्डै एक महिनादेखि संघीय जाँच ब्यूरोका एजेन्टहरु, सङ्ग्रहालयका कामदारहरु, अमेरिकी तटीय रक्षादलका कर्मचारीहरु र अरु कर्मचारीलाई घरमै बस्न वा बेतलबी काम गर्न बाध्य पारिएको छ ।
अत्यावश्यक बजेटमा पनि राजनीति गरिएको भन्दै संघीय कार्यालयमा कार्यरत कर्मचारीले विरोध गर्न थालेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको सुरक्षासँग प्रत्यक्ष सरोकार भएकाले मेक्सिको सीमामा पर्खाल निर्माण गर्नुको विकल्प नरहेको बताउँदै आउनुभएको छ । तर, विपक्षी पार्टीले पर्खाल निर्माणले आप्रवासन समस्या सुल्झाउन नसकिने बताउँदै आएका छन् ।

