असल संस्कार समृद्धिको आधारको परिचर्चा, असल संस्कार सबै ठाउँमा आवश्यक हुनेमा जोड
सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले स्तरीय लेखनको आधार अभ्यास भएकाले अभ्यासको निरन्तरता आवश्यक रहेको बताउनुभयो । अतिथि बिखर्चीले आफु जहाँ बसिन्छ त्यहाँ असल संस्कार बसाल्न आवश्यक रहेको बताउनुभयो ।
गुरुङको असल संस्कार समृद्धिको आधार पुस्तक एउटा सिद्धान्तका रूपमा सबैले शिरोपर गर्नुपर्ने उहाँको सुझाव थियो । कृतिको परिचर्चा गर्दै डा. जगन्नाथ रेग्मीले पशुपति गुरुङको कृति भित्रका १७ थान निबन्धमा असल संस्कारलाई पैतालामा दबाउने होइन, शिरोपर गरी आफैँबाट कार्यान्वयन गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
स्रष्टा पशुपति गुरुङले हामी आफु सभ्य भए समाज सभ्य हुने र त्यही सभ्यतामा समृद्धि लुकेको बताउनुभयो । गुरुङले नेपाल धेरै सम्भावनाले भरिएको देश भए तापनि सम्भावनालाई साकार पार्ने इच्छा शक्ति नहुँदा समृद्धि ओझेलमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले असल संस्कार नै सभ्यताको जननी भएको उल्लेख गर्नुभयो । समाजसेवी तोयबहादुर भट्टराईले साहित्य र समाजसेवा एक अर्काका परिपुरक भएका चर्चा गर्नुभयो ।
गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले लेखकको कृति प्रकाशन भएपछि सार्वजनिक सम्पत्ति हुने भएकाले हरेक स्रष्टाले के का लागि लेख्ने र समाजका लागि के दिने भन्ने कुरामा सचेत हुनुपर्ने बताउनुभयो । कृतिका सम्पादक प्रकाश समीरले स्रष्टा गुरुङलाई विदेशमा बस्दा सिकेको संस्कारलाई स्वदेशमा कार्यान्वयनका लागि निरन्तर साधनारत व्यक्तित्वका रूपमा परिचय गराउनुभएको थियो ।
यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद्मा नियुक्त भएकोमा बधाईसहित साहित्यकार सूर्य खड्का बिखर्ची र असल संस्कार समृद्धिको आधार कृतिका लेखक पशुपति गुरुङलाई संस्थाले सम्मान समेत गरेको छ । स्रष्टाद्वयलाई साहित्यकार दुर्गाबहादुर शाह बाबा, समाजसेवी तोयबहादुर भट्टराई र सभाध्यक्ष कृष्ण रानाभाट सारथिले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभएको हो ।

