चाकडी गरेर बढुवा हुने सपना नदेख्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई चाकडी गरेर सरुवा बढुवाको आस नगर्न आग्रह गर्नुभएको छ । नेपाल प्रहरीको १७८ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो ।
जिम्मेबार एवं इमान्दार भएर काम गर्न–गराउन र सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी नेतृत्वलाई प्रधानमन्त्रीले सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार परिवर्तनको कुनै संभावना नभएको उल्लेख गर्दै सुशासन र विकासका साथै देशमा थिति बसालेर मात्र सरकारबाट विदा हुने जिकीर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन समेत दिनुभयो । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभाव छैन भन्ने भावनाका साथ उच्च मनोबलका सहित काम गर्ने वातावरण बन्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र सार्ने विषयलाई अनुचित खालका टिप्पणी भएको समेत दुःख व्यक्त गर्नुभयो । राष्ट्रपति कार्यालयको कारणले नभई पर्याप्त स्थान नभएकाले तालिम केन्द्र पनौती स्थानान्तरण गर्न लागिएको प्रधानमन्त्री ओलीको स्पष्टीकरण थियो ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रहरी संगठनमा नीतिगत बाहेक अन्य विषयमा कुनै राजनीतिक हस्तक्षेप नरहेको जिकीर गर्नुभयो । उहाँले प्रहरी नेतृत्वलाई कार्यसम्पादन सुधार्न र नागरिकका गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको थियो । सो अवसरमा प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

