पोखरा उद्योग बाणिज्य संघको कार्यसमितिमा ४ सदस्य मनोनित, असन्तुष्टको फरक मत

पोखरा उद्योग वाणिज्य संघमा ४ जनालाई कार्यसमिति सदस्य पदमा मनोनित गरिएको छ । संघका अध्यक्ष दामु अधिकारीले विधानले दिएको अधिकार प्रयोग गर्दै ४ जना साधारण सदस्यहरुलाई कार्यसमितिमा मनोनयन गर्नुभएको हो ।

अध्यक्षबाट मनोनित हुनेहरुमा त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्म हाउसका शिवराज आचार्य रहनुभएको छ । संघका अध्यक्ष अधिकारीले संघको विधानको धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी ४ जना सदस्य मनोनित गर्नुभएको हो ।

संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाका अनुसार अध्यक्षको निर्णयले विधी र परम्परा मिचिएकाले अधिकांश सदस्यहरुबाट फरक मत पनि लेखिएको छ । उहाँका अनुसार फरक मतमा संघको विधानको परिच्छेद ६.३.२ अनुसार बैठकमा छलफल हुनुपर्ने विषय तोकी एक दिन अगावै सूचना गर्नुपर्ने स्पष्ट प्रावधान भएकोमा मिति २०७५।१०।२८ गतेको बैठकमा एजेण्डामा नै नल्याइकन विविध विषय अन्तर्गत अध्यक्ष ज्यूले आफूमा निहित अधिकार प्रयोग गर्दै विना छलफल एकतर्फी ढंगबाट कार्यसमितिमा ४ जना सदस्यहरुको नामावली पेश गरेको सहमति नरहेको उल्लेख छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार ‘नोट अफ डिसेन्ट’ मा महासचिव स्वयंसहित संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी,वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव चिनुकुमारी गुरुङ सहित १० जनाले हस्ताक्षर गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको हालको कार्यसमिति निवर्तमान अध्यक्षसहित २५ सदस्यीय रहेको छ । यसैगरी कार्यसमितिको बैठकले संघको दैनिक कार्य सम्पादनको लागि विभिन्न उपसमिति गठनका साथै संघको तर्फबाट संस्थागत प्रतिनिधित्व हुने सरकारी निकाय÷विभिन्न संघ संस्थाका लागि आधिकारिक प्रतिनिधि पनि चयन गरेको छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार संघको रोजगारदाता उपसमितिको संयोजकमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति, राजश्व उपसमिति संयोजकमा संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी र तालीम व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी संघका उपमहासचिव चिनु गुरुङलाई जिम्मेवारी दिइएको छ ।

यता, बस्तुगत समन्वय उपसमिति संयोजकमा संघका कार्यसमिति सदस्य हरिराज पन्त, पर्यटन उपसमितिमा संघका कार्यसमिति सदस्य कृतिबल्लभ त्रिपाठी, कृषि उपसमिति संयोजकमा संघका कार्यसमिति सदस्य तारानाथ ढुंगाना र सूचना प्रविधी उपसमितिमा संघका कार्यसमिति सदस्य चिन्तामणि बास्तोला चयन गरिएको छ ।

ती उपसमितिहरुलाई पूर्णता दिने जिम्मेवारी पनि संयोजकलाई नै प्रदान गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । यसअघि नै संघका महासचिव अर्जुन पोखरेलको संयोजकत्वमा प्रशासन र सदस्यता उपसमिति र कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेको संयोजकत्वमा आर्थिक उपसमिति र कार्यसमिति सदस्य मुना बास्तोलाको संयोजकत्वमा महिला उद्यमी विकास उपसमिति गठन भइसकेको छ ।

संघको संस्थागत प्रतिनिधित्वका लागि कन्या क्याम्पस व्यवस्थापन समितिको सदस्यमा संघका पूर्व अध्यक्ष दिपक श्रेष्ठ, पोखरा विश्वविद्यालयको सिनेटर सभामा संघका अध्यक्ष दामु अधिकारी, मातृशिशु मितेरी अस्पताल संचालक समितिमा संघका अध्यक्ष दामु अधिकारी, बालमन्दिर विद्यालय व्यवस्थापन समितिमा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, पोखरा महानगरपालिकाको राजश्व परामर्श समितिमा संघका अध्यक्ष दामु अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिमा संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला र पोखरा बहुमुखी क्याम्पस संचालक समितिमा कार्यसमिति सदस्य रामेश्वर अधिकारी तथा महेन्द्र मावि भलामको व्यवस्थापन समितिमा संघका कार्यसमिति सदस्य बलराम आचार्य र दीनेशचन्द्र बास्तोलाबाट प्रतिनिधित्व हुने व्यवस्था समेत गरेको छ ।

यसैगरी पोखरा उद्योग वाणिज्य संघको पहलमा स्थापना भएको पोखरा पर्यटन परीषदको पार्षदको रुपमा संघका अध्यक्ष दामु अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति र महासचिव अर्जुन पोखरेलबाट प्रतिनिधित्व समेत हुने व्यवस्था गरेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

Facebook Comments