सरकारको एक बर्ष समृद्धिको आधार बर्ष : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्माओलीले सरकारको एक बर्षको अवधिलाई संघीयता, सुशासन र समृद्धिको आधार बर्षका रुपमा चित्रित गर्नुभएको छ । सरकार गठन भएको १ बर्ष पुरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले समृद्धिका लागि आफ्नो नेतृत्वको सरकारले आधार तयार पारेको बताउनुभयो ।
साथै सरकार परिवर्तन नहुने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक स्थिरता भएकाले अब समृृद्धिका लागि समेत आधार तयार भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयन लगायतका काम सम्पन्न भएको जिकीर गर्नुभयो ।
प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी लगायतलाई उपलब्धिका रुपमा व्याख्या गर्नुभएको छ । औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभयो ।
त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा, लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको प्रधानमन्त्रीले सरकारको उपलब्धि भएको बताउनुभयो । जयनगर जनकपुर रेल सेवा सञ्चालन, पानीजहाज सञ्चालनको तयारी लगायतका काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई थियो ।

