पोखरामा क्यान इन्फोटेक–२०१९ शुरु, रोर्वटले गर्यो अतिथिको स्वागत
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको छ । सोमबार रोर्वटको माध्यमबाट प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानलाई पुष्पगुच्छा दिएर स्वागत गरिनुका साथै रोवर्टकै सहयोगमा बेलुन उडाएर कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष हेमन्त चौरासियाले अबको केही बर्षपछि विश्व नै डिजिटल हुने भन्दै नेपाल सरकारले पनि डिजिटल नेपाल घोषणा गर्ने तयारीमा रहेको सुचना आफुले पाएको उल्लेख गर्नुभयो । पोखरा उद्योग बाणिज्य संघ अध्यक्ष दामु अधिकारीले यस्ता इन्फोटेकहरु ब्यापारको लागि भन्दा पनि प्रदर्शन र बजार प्रवद्र्धनको लक्षका साथ हुनुपर्ने बताउनुभयो ।
याे पनि हेर्नुहाेस
गण्डकी प्रदेशको पोखरामा आइटी पार्क बनाईंदै
कार्यक्रममा क्यान गण्डकी अध्यक्ष चिन्तामणि बास्तोला लगायतले बोल्नुभएको कार्यक्रम क्यान कास्कीका महासचिव विकास भुर्तेलको सञ्चालन तथा अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको थियो । इन्फोटेक फागुन २५ गतेसम्म सञ्चालन हुने छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’मा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर समावेश गरिएको छ ।
यसका साथै आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो ।
इन्फोटेककै अवसरमा क्यान कास्कीले दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरेको थियो । तालिममा २१ जना सहभागी भएका थिए । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहेको बताइएको छ ।

