ब्रेजिक्ट मुद्दा प्रधानमन्त्री टेरिजा मेको संशोधित मस्यौदा संसदबाट अस्वीकृत
बेलायतमा ब्रेजिक्टको विषय पेचिलो बनिरहेको छ । पछिल्लो पटक बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेद्वारा प्रस्तुत संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ । यसअघि पनि प्रधानमन्त्री मे ले प्रस्तुत गर्नुभएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा संसद्ले अस्वीकृत गरिदिएको थियो ।
त्यसपछि संशोधन गरेर ल्याएको मस्यौदालाई संसद्ले पुनः अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री मेलाई थप अप्ठेरो परेको छ । प्रधानमन्त्री मे ले प्रस्ताव गरेको मस्यौदामा संसद्को बहुमतले अस्वीकृत गरिदिएको हो । मस्यौदाको प्रस्तावमा २ सय ४२ मत परेको थियो भने विपक्षमा ३ सय ९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो । यसअघि पनि मस्यौदा अस्वीकृत भएपछि मेले अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो ।
युरोपेली संघका नेताहरुसँग निकै लामो छलफलपछि आफूले प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री मे ले आफ्नो संशोधित प्रस्ताव पारित गर्न संसद्लाई आग्रह गर्नुभएको थियो । उहाँले कि त प्रस्ताव पारित गर्नुहोस् कि ब्रेक्जिटलाई नै अस्वीकार गर्नुहोस् भन्दै संसद्मा आफ्नो प्रस्ताव पेश गर्नुभएको थियो ।

