देशभरका स्थानीय तहमा बैंकका शाखा विस्तार हुने

सरकारले चालू आर्थिक वर्षभित्र मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याउने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी गराउनुभएको हो ।

उहाँले सिंहदरबारमा मात्र नभई मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुने बताउनुभयो । नेपालमा पूर्वस्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक मात्रै भएको हुँदा मुलुकमा रहेका २८ वाणिज्य बैंकलाई समान अवसर प्रदान गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको बताउँदै उहाँले सबै बैंकलाई समान रुपमा प्रतिस्पर्धा गराउने ढङ्गबाट बैकिङ सञ्जाल विस्तार गर्नुपर्ने बताउनुभयो ।

यसअघि बैठकमा सांसद विन्दा पाण्डे, प्रेम सुवाल, भीमबहादुर रावल, खगराज अधिकारी, अनिलकुमार झालगायतले अर्थमन्त्रीसँग सिंहदरबारभित्र सरकारी बैंक किन स्थापना नभएको तथा सबै स्थानीय तहमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ भनी प्रश्न गर्नुभएको थियो ।

Facebook Comments