गण्डकी प्रदेशमा विषादी मापन प्रयोगशाला स्थापना गरिने
गण्डकी प्रदेशमा विषादी मापन प्रयोगशाला स्थापना गरिने भएको छ । प्रदेशका मुख्य नाका तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा प्रयोगशाला स्थापना गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाका अनुसार विषादी अवशेष पत्ता लगाउने प्रयोगशाला स्थापना गरीे प्रदेशमा भित्रिने तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गरिनेछ ।
सरकारले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएका पाईएमा नष्ट गर्ने उद्देश्य राखेको छ । प्रयोगशालाको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्याङ्जाको मालुङ्गामा १४ रोपनी जमीनको व्यवस्था गरेको जनाएको छ ।
प्रयोगशाला राख्न जमीनको प्रबन्ध भएपनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्कालका लागि घर भाडामा लिएर चैत दोस्रो हप्ताभित्रमा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको योजना छ । तनहुँको आँबुखैरेनीमा पनि प्रयोगशाला राख्ने तयारी गरिएको छ ।
गोरखालाई पनि समेट्नुपर्ने भएकाले मुग्लिन पुलदेखी आँबुखैरेनीसम्मको क्षेत्रमा प्रयोगशाला स्थापनाको काम अघि बढेको मन्त्री थापाले जानकारी दिनुभयो । मन्त्रालयले उक्त क्षेत्रमा सार्वजनिक जमीन खोजी गरिरहेको छ तत्कालका लागि घर भाडामा लिएर भएपनि प्रयोगशाला स्थापना गर्ने तयारीमा मन्त्रालय लागेको छ ।
सरकारले दुवै स्थानमा प्रयोगशालाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट बिनियोजन गरेको छ । हाललाई तरकारी र फलफूलको परीक्षण गर्ने प्रयोगशालाको रुपमा प्रयोग गरेपनि आगामी वर्षमा प्रदेशको आन्तरिक क्यारेन्टाईन चेक पोष्टको रुपमा विकास गरिने मन्त्रालयका कृषि महाशाखा प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रयोगशालामा तरकारी र फलफूलको नमूना लिएर परीक्षण गरिनेछ ।
प्रयोगशालामा प्राविधिकसहित हाललाई सात जनाको दरबन्दी रहने मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी पोखरामा रहेको कृषि उपज थोक बजारमा दैनिक १०० देखी १२० मेट्रिक टन सम्म तरकारी र ७० देखी ८० मेट्रिक टन फलफूल आउने गरेको छ । धादिङ, चितवन, मकवानपूर, सर्लाही, कपिलबस्तु र पाल्पाबाट सो बजारमा फलफूल र तरकारी आउने गर्दछ ।

