विदा कटौति लगायतका विषयमा तमु धिं नेपालले ज्ञापन पत्र पेश

तमु धिं नेपालले विभिन्न समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराएकाे छ । प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पेश गर्दै तमु धिंले विभिन्न माग समेत गरेकाे छ ।

विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशी लगायतलाई वार्ता मार्फत उनीहरुको माग पुरा गर्दै शान्ति कायम गर्न, तमु ल्होछारमा सार्वजनिक विदा पाउनुपर्ने, सिंहप्रसाद तमुले बम विष्फोटमा परी जीवन गुमाउनु परेको, बैदेशिक रोजगार संघका अध्यक्ष रोहन तमुको घरमा बम बिष्फोट घटनाको दोषीलाई कारवाही, पवित्र बस्त्र खादाका बारेमा समाजमा द्वेष फैलाउन खोज्नेलाई कारवाही लगायतको माग समेटिएको ज्ञापनपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत पठाएको हो।

उक्त ज्ञापन पत्र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । ज्ञापनपत्र ग्रहण गर्नुहुदै प्रजिअ बुढाले तमु धिं नेपालको मागपत्र तत्कालै गृहमन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाउने बताउनुभयो। समसामयिक चासोका विषयमा तमु धिं नेपालले झकझकाउने कार्यले सबैलाई सचेत बनाउने अपेक्षा गर्नुहुदै समाजमा शान्ति स्थापनाका लागि तमु धिंको भुमिकाका लागि अनुरोध समेत गर्नुभयो।

त्यसैले, विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशी लगायतलाई वार्ता मार्फत उनीहरुको माग पुरा गर्दै शान्ति कायम गर्न सरकार समक्ष तमु धिं नेपालले माग गरेको छ।

यसै क्रममा फाल्गुण १० गते शुक्रवार ललितपुर भैसीपाटीस्थित एनसेल टावरमा ७ः४५ बजे बम विष्फाोट घटनामा लमजुङ स्थायी घर भई ललिपुर भैसीपाटी निवासी वर्ष ४९ का सर्वसाधारण नागरिक सिंहप्रसाद गुरुङको दुखद मृत्यु र फागुण २४ गते बेलुकी ७ः४० बजे तमु धिं नेपालका आजीवन सदस्य एवं पुर्व कार्यसमिति सदस्य नन्दकुमारी तमुको सुपुत्र बैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष रोहण गुरुङको घरमा गरिएको बम विष्फोट भएको दुःखद घटनाको तमु धिं नेपालले भत्र्सना गरेको छ।

स्वर्गीय सिंहप्रसाद गुरुङलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको उचित सम्मान, आश्रित परिवारलाई उचित क्षतिपूर्ति (राहत)को व्यवस्था, बालबच्चलाई राज्यले शिक्षादिक्षाको पुर्ण व्यवस्थाका साथ दोषीलाई कारवाही माग ज्ञापन मार्फत गरिएको छ।

बैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष गुरुङको घरमा भएको क्षतिको तत्काल क्षतिपूर्तिको व्यवस्था, गुरुङ र उहाँको परिवारको जिउधनको सुरक्षाको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्थाको गरियोस् साथै राज्यका हरेक नागरिकले स्वतन्त्रापूर्वक बाच्न पाउने, व्यवसाय तथा आय आर्जन गर्न पाउने संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्दै घटनाको घाइतेको पुर्ण उपचारको व्यवस्थाका साथै घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग तमु धिंले गरेको छ।

यसरी नै बहुजातिय, बहुसाँस्कृतिक, विविधताको मुलुक नेपालमा नेपाल सरकारले २०७६ सालको सार्वजनिक विदाको निर्णय प्रति हाम्रो ध्यानाकर्षण भएको छ। देशको ३१ प्रतिशत जनसंख्या रहेका जनसमुदायलाई आम नेपाली सम्झी सार्वजनिक १५ दिनको विदामा ११ दिन उनीहरुकै लागि र ३७ प्रतिशत आदिवासी जनजातिले प्राप्त गरेको ५ दिनको सार्वजनिक विदा कटौतीले विदामा समेत विभेद भएकोमा हाम्रो विरोध रहेको छ।

१५ दिन सार्वजनिक विदा एवं सट्टा विदाको नाउमा तमु ल्होछार लगायतका आदिवासी जनजातिका पर्वहरुमा क्षेत्र र समुदाय विशेष गरी पर्वलाई संकुचिन गरिनु आपत्तिजनक छ। तमु ल्होछारमा सार्वजनिक रुपमा देशैभरको विदाको माग गरिएको छ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत धर्मनिरपेक्ष र सामाजिक सद्भावयुक्त देश नेपालमा केही समयदेखि पवित्र बस्त्र खादाकाबारे भ्रम फैलाउदै समाजमा द्धेष फैलाउन उद्धत रहने तत्वलाई कारबाही गर्न तमु धिं नेपालले माग गरेको छ।

Facebook Comments