बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै राष्ट्रिय जीवन बिमा कम्पनीको सञ्चालक समितिमा समेत सदस्यका रूपमा कार्य गरिसक्नुभएका थापाकाे बैंकिङ एवं विमा क्षेत्रमा लामाे अनुभव रहेकाे छ ।

नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथग्रहणपछि अर्थमन्त्री वाग्लेले बिमा क्षेत्रको विकास, विस्तार र सुधारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्ष थापालाई निर्देशन दिनुभयाे । उहाँले बिमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै आम नागरिकको बिमा सेवामा पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड समेत जाेड दिनुभयाे ।

बिमा क्षेत्रको नियमन, सुपरिवेक्षण तथा संस्थागत सुशासन, बिमा कम्पनीहरूको सेवा प्रवाहलाई विश्वसनीय बनाउने, बिमाप्रतिको जनविश्वास बढाउने र बिमा पहुँच विस्तार गर्ने विषय पनि नयाँ नेतृत्वका लागि महत्वपूर्ण रहनेछन् ।

त्यसैगरी सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। 

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

Facebook Comments