रिसाललाई सामाजिक पत्रकारिता पुरस्कार
स्वतन्त्र पत्रकार संघ, नेपालले वरिष्ठ पत्रकार भैरव रिसाललाई सामाजिक पत्रकारिता पुरस्कार प्र्रदान गरेको छ । संघको आठौं वार्षिकोत्सवको अवसरमा बुधबार पोखरामा आयोजित एक समारोहबीच रिसाललाई उक्त पुरस्कार वितरण गरेको हो ।
स्वतन्त्र पत्रकार संघ, नेपालद्धारा सञ्चालित र पोखराका समाजसेवी लिलाभक्त आचार्य र उनका परिवारद्धारा स्थापित पहिलो पुरस्कार रिसाललाई प्रदान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर २५ हजार नगदसहित सम्मानपत्रद्धारा रिसाललाई सम्मान गर्नुभयो ।
२०८५ साउन १९ गते भक्तपुरको तिथलीमा जन्मिएका रिसालले २०१३ देखि हालखबर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । ९१ वर्षको उमेरमा पनि पत्रकारिता र सामाजिक कार्यमा कृयाशील भैरव रिसाल वातावरण पत्रकारिताका अग्रज हुनुहुन्छ ।
पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जर्भेसन अवार्ड, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कारबाट रिसाल सम्मानित भइसकेका छन् ।
पाँच वर्षअघि आचार्य परिवारले पुरस्कारका लागि ५ लाखको अक्षयकोष स्थापना गरेका थिए । पोखराका अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले रिसाललाई उक्त पुरस्कारका लागि चयन गरेको थियो । संयोजक कार्कीसहित स्वतन्त्र पत्रकार संघ, नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोला, महासचिव नवराज पहाडी, बुद्धिजीवी विश्वकल्याण पराजुली र पत्रकार दुर्गा अधिकारीसहितको ५ सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको थियो ।
मनितालाई महिला पत्रकार सम्मान
त्यस्तै, स्वतन्त्र पत्रकार संघले समाजसेवी सूर्यनाथ उपाध्याय तथा परिवारद्धारा स्थापना गरेको महिला पत्रकारिता सम्मानबाट धरानकी महिला पत्रकार मनिता चाम्लिङ रार्ईलाई सम्मान ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर ५ हजार नगदसहित सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो ।

सुनसरी जिल्लाको धरानमा जन्मिएकी पत्रकार मनिता चाम्लिङ राईले २०५३ देखि सिरेटो साप्ताहिकबाट पत्रकारिता शुरु गरेकी हुन्् । यसअघि, उक्त पुरस्कारबाट दुर्गा अधिकारी र शिला गुरुङ सम्मानीत भइसकेका छन् ।

