कास्कीको अन्नपूर्णमा वितरित १५० तरकारी टनेल गायव
अन्नपूर्ण गाउँपालिका कृषि शाखाले वितरण गरेको २ सय ५० टनेल मध्ये अनुगमनका क्रममा १ सय वटा मात्रै भेटिएपछि वास्तविक कृषकहरुले गुनासो पोखेका छन् । सामुदायिक वनका अध्यक्ष बुद्धिबहादुर कुंवरले आवश्यकताको आधारमा भन्दा पनि चिनेजानेको आधारमा टनेल मात्र वितरण गर्ने परिपाटीले गर्दा पनि समस्या आएको उल्लेख गर्नुभयो ।
मानवअधिकार निगरानी समुह ढिकुरपोखरीको बैठकमा बोल्दै अध्यक्ष कुँबरले अन्य टनेल कहाँ कुन अवस्थामा रहेका छन् भनि अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । सिम्पानी उपभोक्ता खानेपानी समितिका अध्यक्ष शिव बहादुर सुवेदीले एक द्धारप्रणाली लागु पर्नेे भन्दै एउटा श्रोतबाट पानी खाएकोमा अर्को श्रोतबाट पानी खान नपाउने नियम बनाउन माग गर्नुभयो ।
ढिकुरपोखरीमा केही समय अगाडी खानेपानीमा कोलिफर्म भेटिएको भन्दै मानवअधिकार निगरानी समुहले ध्यानाकर्षण गराएको थियो । कार्यक्रममा बोल्दै १,२ र ३ का वडा अध्यक्ष क्रमश भरतजंगकुंवर, चुडामणी अधिकारी र चन्द्र बहादुर गूरुङ्गले नागरिकहरुको गुनासो र अनुगमनले आफुहरुलाई समेत काम गर्न हौसला प्रदान गर्ने हुँदा वडागत निगरानी समुह गठन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मानवअधिकार निगरानी समूहका संयोजक चर्तुमान विश्वकर्माले मानवअधिकार निगरानी समुहले उठाउँदै आएका स्थानियका समस्याहरुलाई सम्बोधन गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो । उहाँले पानीमा देखिएको तत्काल कोलिपर्मको जांच गर्नु, कृषिबाट दिइएको टनेलको अवस्थाको बारेमा जानकारी गराउन माग गर्नुभयो ।

