मादी गाउँपालिकाको वडा नं. ९ को गहतेमा होमस्टे सञ्चालनका लागि पहल शुरु
मादी गाउँपालिकाको मिजुरेमा होमस्टे सञ्चालनका लागि पहल शुरु भएको छ । मादी गाउँपालिका ९ मिजुरेको गहते गाउँमा होमस्टे सञ्चालनको तयारी शुरु गरिएको हो । होमस्टे सञ्चालनको तयारी स्वरुप वडाकै आयोजनामा २ दिने होमस्टे तालिम सम्पन्न भएको छ ।
तालिममा गण्डकी प्रदेशको होमस्टे सञ्चालन कार्यविधि २०७५, संघीय सरकारको होमस्टे सञ्चालन कार्यविधि २०६७, होमस्टे(घरबास) पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ लगायतका विषयमा शुभ पाटी प्रा.लि.को तर्फबाट राज शर्मा, घनश्याम पाण्डे र विश्वराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

तालिममा उपलब्ध हुन सक्ने स्थानीय कृषि तथा पशुजन्य उत्पादन, स्थानीय पर्यटकीय संभावनाका क्षेत्रका बारेमा सहभागीहरुका वीचमा नै छलफल गरिएको थियो । सो क्रममा खानाका लागि अधिकांश कृषिजन्य उत्पादन गाउँमा नै उपलब्ध हुने तथा जंगल पैदलयात्रा, स्थानीय भाले चुचुरोबाट हिम श्रृंखला तथा अन्य दृश्यावलोकन, जंगल, बन्यजन्तु तथा चरा अवलोकन लगायतको संभावनाका साथै रक क्लाइम्बिङ र प्याराग्लाडिङ उडान हुन सक्ने सहभागीको भनाई रहेको थियो ।
गहते गाउँका स्थानीयले छिट्टै सामुदायिक होमस्टे सञ्चालन गर्न उत्सुक देखिएका छन् । वडाका मुग्री, मुग्रीवेसी लगायतका स्थानमा निजी स्तरमा र गहतेमा सामुदायिक रुपमा होमस्टे सञ्चालनका लागि स्थानीय उत्सुक देखिएका हुन् । गहतेका अगुवा दुतराज गुरुङले गाउँभेला गरेर होमस्टे सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

तालिमका दौरान सहभागीले नै स्थानीय कृषिजन्य उत्पादन चामलको पिठो, गुन्द्रुक भट्ट, कोइरालाको फूल, निउरो, मटरकोसा, कोदोको पिठो, माछा लगायतबाट सेलरोटी, तरकारी, अचार, माछा लगायतको परिकार बनाउन व्यवहारिक अभ्यास समेत गरेका थिए ।
होमस्टे सञ्चालन गरेमा पूर्ण रुपमा अर्गानिक कृषिजन्य उत्पादन तथा स्थानीय जातका कुखुरा, माछा लगायतका परिकार उपलब्ध गराउन सकिने गुरुङ लगायत तालिमका सहभागीको भनाई रहेको थियो ।
हाेमस्टेले सामाजिक सांस्कृतिक संरक्षण : अध्यक्ष गुरुङ
मादी ९ का वडाध्यक्ष तोरणबहादुर गुरुङले होमस्टे सञ्चालन गरेमा समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक विकास हुने बताउनुभयो । उहाँले तमु समुदायको घाँटु, सोरठी, सेर्क लगायतका साँस्कृतिक पक्षलाई संरक्षण गर्न वडा कार्यालयका तर्फबाट सहयोग गर्ने पनि बताउनुभयो ।
अध्यक्ष गुरुङले होमस्टे सञ्चालन गरेमा वडा कार्यालय, गाउँपालिका तथा प्रदेश सरकारबाट समेत हुने सहयोगका लागि समन्वय गर्न तयार रहेको बताउनुभयो । तालिममा सक्रियताका साथ सहभागी भएकोमा धन्यवाद दिदैं उहाँले होमस्टेसँगै ग्रामीण पर्यटनको विकास मार्फत् समुदायको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

