चिकित्सक सहितको टोली हावाहुरी प्रभावित क्षेत्रमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँधी प्रभावित क्षेत्रमा रगत तथा चिकित्सकको अभाव नभएको जनाएको छ । मन्त्रालयका अनुसार बारा, पर्साका प्रभावित क्षेत्रका घाइतेको लागि चाहिने रगत अभाब नभएको जनाएको छ । रगत र चिकित्सकको अभाब नभएपनि अस्पतालमा बिरामी राख्ने शैयाको भने अभाब रहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयले चिकित्सक र रगत अभाव हुन नदिन विभिन्न जिल्ला र केन्द्रिय रेडक्रसलाई निर्देशन दिएको छ । उपचारका लागि अस्पतालहरुमा बेड अभावले केहि समस्या भएपनि समाधानको लागि केन्द्रबाट टोली प्रभावित क्षेत्रमा पुगेको छ ।

पिडितहरुलाई शुद्ध खानेपानी र पोषणयुक्त खानामा कमि हुन नदिन तथा बिरामीको स्वास्थ्य जाँचका लागि मन्त्रालयले पठाएको डा.रमेश खरेल, डा.दिपेन्द्र रमण सिंहको नेतृत्वमा विशेष टोलीले बारा पुगी स्वास्थ्य परिक्षण लगायतका कार्य शुरु गरेको छ । हेटौंडा, चितवन र जनकपुरबाट पनि विशेषज्ञ सहितको टोली घटनास्थल पुगेर उपचारमा संलग्न भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसैवीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंमा उपचाररत बारा र पर्साका घाइतेहरूलाई भेट्नुभएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उहाँले घाइतेहरूलाई भेट्नुभएको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि भेटेर उपचारमा कमी हुन नदिन मन्त्री पोखरेलले निर्देशन समेत दिनुभएको छ । बारा र पर्सामा आँधी, हुरीबाट घाइते भएकाहरूमध्य ७ जनाको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । उनीहरूलाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइएको हो ।

नेकपा सांसदले एकदिनको तलव सहयोग गर्ने

नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएका छन् । प्रधानमन्त्री ओलीले नै यो जानकारी गराउनुभएको हो । नेकपा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल समेत गर्नुभएको छ ।

Facebook Comments