मुक्तिनाथ बिकास बैंकले ऋणीको मृत्यु भएमा कर्जा मिनाहा गर्ने
जनता बैंकमा होइन, बैंक जनतासमक्ष जानुपर्छ भन्ने नारा सहित सञ्चालित मुक्तिनाथ बिकास बैंकले बैंकबाट कर्जा लिने ऋणीको निधन भएमा कर्जा मिनाहा गर्ने भएको छ । बैंकबाट ऋण लिएका ग्राहकको मृत्युपश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गर्दै विगतमा बैंकलाई भुक्तानी भएको साँवा तथा ब्याज पनि फिर्ता हुने कर्जा योजना बैंकले ल्याएको हो ।
यस योजनामा बैंकबाट सामूहिक जमानी वा व्यक्तिगत जमानतमा बिनाधितो कर्जा लिएका ग्राहकको सो अवधिभित्र मृत्यु भएमा बैंकलाई तिर्न बाँकी रहेको रकम र सो अवधिमा भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता हुने व्यवस्था छ ।
दिवगंत कार्कीको परिवारलाई २ लाख ८५ हजार प्रदान
यस याेजना अन्तर्गत बैंकले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३, घाचोककी बिन्दु कार्कीको परिवारलाई तिर्न बाँकी कर्जा र कर्जा अवधिमा भुक्तान भएको रकम समेत गरी एक मुष्ठ २ लाख ८५ हजार ८५३ रुपैयाँ फिर्ता गरेको छ ।
कार्कीले साना तथा लघुबैंंकिङ्ग कार्यक्रम अन्तर्गत शाखा कार्यालय हेम्जाको साना तथा लघुबैंकिङ्ग कार्यालयबाट बिनाधितो व्यक्तिगत लघुउद्यम कर्जाअन्र्तगत तरकारी खेती तथा पशुपालन ब्यबसायका लागि २०७४ बैशाख ३ गते रु.२,५०,०००।–(अक्षरेपी दुई लाख पचास हजार रुपैया मात्र ) कर्जा लिनुभएको सिथयो ।
सो कर्जाको तिर्न बाँकी रु १२६,४६८.०० (अक्षरेपी एक लाख छब्बिस हजार चारसय अट्सठ्ठी रुपैया मात्र ) र कार्कीबाट भुक्तान भएको साँवा तथा ब्याज रु १,५४,३८५ (अक्षरेपी एक लाख चौवन्न हजार तिन सय पचासी रुपैयाँ मात्र) र बैंकले ऋणी सदस्य मृत्यु हुँदा वितरण गर्दै आएको काजकिरिया खर्च स्वरुप रु ५,००० परिवारलाई प्रदान गरिएको हो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडका क्षेत्रिय प्रवन्धक बाबुराम ढकाल, पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेल, माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ का अध्यक्ष सूर्यप्रसाद लम्सालबाट संयुक्त रुपमा मृतकका परिवारहरुलाई चेकमार्फत हस्तान्तरण गर्नुभएको बैंकले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।
सो कार्यक्रममा मुक्तिनाथ विकास बैंक लिमीटेडका शाखा प्रमुख सन्तोष शर्मा साना तथा लघुबैंकिङ्ग कार्यालय प्रमुख बालकृष्ण रेग्मी लगायत अन्य कर्मचारी र स्थानीय बासिन्दाले मृतकप्रति समवेदना प्रकट गरेका थिए । कार्कीको ५२ बर्षको उमेरमा २०७५ चैत १३ गते स्वास्थ्य उपचारको शिलशिलामा अस्पतालमा निधन भएको थियो ।

