सरकारी स्वास्थ्य संस्थामा सेवा बन्द भएकोप्रति मानवअधिकार आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारणलाई मर्का परेको भन्दै दैनिक स्वास्थ्य सेवामा प्रभाव पर्ने गरी आन्दोलन नगर्न सरकारी चिकित्सकलाई आग्रह गरेको छ । सरकारी चिकित्सक संघ गोदानको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएपछि आयोगले यस्तो आग्रह गरेको हो ।

नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा हजारौं नागरिकको स्वास्थ्यको अधिकारको हनन् भएको भन्दै आयोगले आज एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन आग्रह गरेको हो । अस्पतालको सेवा नै प्रभावित पार्नु संविधान र प्रचलित कानून विपरीत भएको भन्दै आयोगले यो समस्यालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।

पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि र अस्पष्टताहरुलाई समाधान गरी नागरिकको स्वास्थ्यको अधिकार हनन् हुन नदिन आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ । समायोजनप्रति असन्तुष्टि जनाउँदै गोदानले ५ दिनदेखि देशैभरको स्वास्थ्य सेवा ठप्प पारेको छ । यसले गर्दा बिरामी मर्कामा परेका छन् ।

Facebook Comments