मेडिकल कलेजको शुल्क निर्धारण बारेका निर्णय ३ दिन भित्र पेश गर्न निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले मेडिकल शिक्षा क्षेत्रमा शुल्क निर्धारणबारे भएका निर्णय ३ दिन भित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । मेडिकल कलेजमा भएको अनियमतता अध्ययन गर्न गठित उपसमितिको आज बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

मेडिकल शिक्षामा शुल्क निर्धारण सम्बन्धी भएका निर्णय आगामी शुक्रबार भित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा मेडिकल काउन्सिललाई समितिको निर्देशन छ । माग गरिएको कागजपत्र प्राप्त भएपछि मेडिकल कलेजले लिएका शुल्कबारे छानविन गरिने उपसमिति संयोजक सुरेश कुमार राईले बताउनुभयो ।

पोखराको गण्डकी, ललितपुरको किष्ट, भरतपुरको चितवन, भैरहवाको युनिर्भसल र वीरगञ्जको नेसनल मेडिकल कलेजले विद्यार्थीबाट लाखौं बढी शुल्क लिएर ठगी गर्दै आएको समाचार बाहिरिएपछि समितिले गत १२ गते छानविनका लागि उपसमिति गठन गरेको थियो । उपसमितिमा खगराज अधिकारी, चित्रलेखा यादव, योगेश भट्टराई, सन्तकुमार थारु, जिवनराम श्रेष्ठ, मनकुमारी जिसी, एकवाल मियाँ र उमेश श्रेष्ठ सदस्य छन् ।

Facebook Comments