पोखराको रत्न मन्दिर र हिमागृह खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गर्न आग्रह
गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताउनुभएको छ ।
सांसद पहारीले पोखरा पर्यटन परिषद र पर्यटन सम्वद्ध विभिन्न १२ वटा संघ संस्थाहरूले बिहीबार पोखरामा नयाँ बर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रममा यस्तो बताउनुभएको हो ।
संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने सांसद पहारीको तर्क रहेको छ । उहाँले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको बताउनुभयो ।
फेवाताल पुरिदै गएको तर्फ इंगित गर्दै पहारीले फेवाताललाई पोखरी हुनबाट बचाउन सर्वाेच्च अदालतको आदेश अनुसार काम अगाडि बढेको जानकारी दिदै फेवातालको मापदण्डको विषय चाँडै प्रष्ट पारिने बताउनुभयो ।
प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष दुवैको माध्यमबाट पोखराको पर्यटनले नयाँ उचाई लिने गरी तीव्र गतिमा काम अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले २०७६ साललाई नेपाल र नेपालीको संवृद्धिको निम्ति ‘माइल स्टोन बर्ष’ को रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । अर्का सांसद रामजी बरालले पोखरालाई सम्पूर्ण गण्डकी प्रदेशको मात्रै नभई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबै पक्षहरू लाग्नुपर्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, परिषदका महासचिव डिल्लिप्रसाद गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

