संस्कृति र परम्परा : चैते दशैं विशेष पूजा गरिदैं

देशका अधिकांश स्थानमा आधुनिकताका नाममा प्रचलित संस्कृति हराउँदै गएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ तोरीचौर र यस आसपासका स्थानीयवासी चल्दै आएको चैते दशैं विशेष पूजालाई निरन्तरता दिदै आएका छन् ।

प्राचीन कालदेखि नै साविक भरतपोखरी गा.वि.स.को वडा नं ३ कालिकास्थानस्थित कालिका मन्दिरमा पूजाआजा गर्दै आइएकोमा जनसंख्या बृद्धिसँगै २०४५ सालदेखि तोरीचौरमा नै महाकाली मन्दिर स्थापना गर्दै नियमित पूजाआजा गर्न थालिएको हो ।

महाकाली मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष रामबहादुर भण्डारीका अनुसार मन्दिर स्थापना भए यता प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैं)का अवसरमा मन्दिरमा बलि पूजा सहित विशेष पूजा गर्ने गरिएको छ ।

उहाँले चैते दशैंका साथै आश्विन शुक्ल पक्ष, अन्य विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा मन्दिरमा पूजाआजा हुने गरेको जानकारी दिनुभयो । पूजामा महाकालीका लागि बोकाको बलि, मन्दिर परिसरमा नै रहेको माईको थानमा पाठीको बलि दिने गरिएको छ ।

स्थानीय समाजसेवी एवम् मन्दिर संरक्षण समितिका सदस्य विष्णुप्रसाद पौडेलका अनुसार यस वर्ष पनि बोका र पाठीको बली सहित चैते दशैं विशेष पूजा गरिएको छ । महाकाली मन्दिरमा विशेषतः चैनपुर, पानी टंकी, तोरीचौर, महाकाली चोक लगायतका स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

मन्दिरको स्थापनाका साथै संरक्षण र विकासका लागि स्थापनाकालिन समयदेखि मन्दिर संरक्षण समिति, आमा समूह, टोल विकास संस्था सबैको सकृयता रहेको तोरीचौर आमा समूहकी पूर्व अध्यक्ष मीना भण्डारीले दिनुभयो ।

चैते दशैंका अवसरमै भरतपोखरीको बरस्थित कोटभैरव मन्दिर, कालिकास्थानस्थित कालिका मन्दिरमा पनि आज विहानैदेखि सर्वसाधारणले पूजाआजा गरेका छन् ।

Facebook Comments