सशस्त्रमा जनशक्ति अभाव : महानिरिक्षक खनाल

सशस्त्र प्रहरी बल एपीएफले स्रोत, साधन र जनशक्तिको अभाव भएको जनाएको छ । जनशक्ति अभावले माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताउनुभयो ।

आफ्नो एकवर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी दिनुभयो । आज काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भइरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे पनि स्पष्ट पार्नुभयो । एपीएफले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि शुरु गरिएको जानकारी दिएको छ ।

सशस्त्र प्रहरीलाइ प्रविधिमैत्री बनाउन मातहतका कार्यालयमा इन्टरनेट जडान तथा माेवाइल एप्स सञ्चालनमा ल्याइएकाे पनि महानिरीक्षक खनालले जानकारी दिनुभयाे ।

Facebook Comments