पाल्पा र गुल्मीका २ स्थानीय तहमा निजी विद्यालय सामुदायिकमा गाभिए

पाल्पा र गुल्मीका २ स्थानीय तहले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभ्न सफल भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिकाले निजी र सामुदायिक विद्यालयलाई गाभेर एउटै माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने पहल लिएका हुन् ।

गुल्मीको दरबारथोक गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाका अनुसार गाउँपालिकामा रहेको गौरीशंकर बोर्डिङ स्कूल कक्षा १२ सम्म पढाई हुने इश्वरी माविमा गाभिएको छ । गाउँपालिकामा रहेका अन्य ५ वटा निजी विद्यालयले पनि नजिकका सामुदायिक विद्यालयमा गाभ्ने गरी पहल भइरहेको छ । गाउँपालिकामा संस्थागत सामुदायिक नभनी एउटै गुणस्तरको शिक्षा प्रदान गर्नका लागि पहल गरिएको थापाको भनाई रहेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार गाउँपालिकाभित्र रहेका पाँच संस्थागत विद्यालय सामुदायिक विद्यालयमा गाभिएका छन् । गाउँपालिकाले गठन गरेको गाउँ शिक्षा सुधार कार्यदलले दिएको प्रतिवेदनका आधारमा निजी विद्यालयलाई नजिकका सामुदायिक विद्यालयमा गाभिएको हो ।

गाउँपालिकाकै पहलमा ५/६ महिना अगाडिदेखि संस्थागत विद्यालयका सञ्चालकसँग छलफल गरेर आपसी सहमतिमा विद्यालय गाभ्ने निर्णय गरिएको हो । निजी विद्यालयका अभिभावक, शिक्षक कर्मचारी र शेयर होल्डरहरुसँगको छलफलबाट सहमति जुटेको गाउँपालिकाका अध्यक्ष थापाको भनाई छ ।

उहाँका अनुसार शिक्षक कर्मचारीहरुलाई रोजगारी दिने र शेयर होल्डरहरुलाई लगानीको मुल्याकंन गरी आर्थिक बर्षको अन्त्यसम्ममा फिर्ता गर्ने सहमति भएको छ । फर्निचर, कम्प्युटर लगायतको सामग्री, भौतिक संरचना, जग्गा समेतको मुल्याङ्कन गर्दा करिव १ करोड ६० लाख रकम आवश्यक हुने पनि उहाँले जानकारी दिनुभयो । उहाँले लगानी फिर्ता गर्नका लागि दातृ निकाय, समायोजन भएका विद्यालय, गाउँपालिका र अन्य सहयोगदाता खोजिनेछ ।

उहाँका अनुसार पूर्वखोला बोर्डिङ स्कूललाई उद्बुद्ध मावि रिङ्नेरहमा, जोनन इङलिस बोर्डिङ स्कूललाई गणपति मावि वीरकोटमा, सरस्वती बोर्डिङ स्कूललाई सरस्वती मावि जल्पामा, माउन्ट भ्यू बोर्डिङ स्कूललाई शम्भु मावि जल्पामा र चिराग बोर्डिङ स्कूललाई मातृभूमि मावि देवीनगरमा गाभिएको हो ।

अध्यक्ष थापाले दिनुभएको जानकारी अनुसार गाभिएका संस्थागत विद्यालयका शिक्षक कर्मचारी र भौतिक संरचनालाई पनि व्यवस्थापन गरिनेछ । दुवै गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा यसअघि नै अंग्रेजी माध्यममा पढाई हुँदै आएको छ । गाउँपालिकाले गरेको पहलका कारण अभिभावकले महङ्गो शुल्क तिरेर निजी विद्यालयमा पढाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

Facebook Comments