मादी गाउँपालिकाको सार्वजनिक सुनुवाई हुँदै

मादी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सोमबार हुँदैछ । गाउँपालिकाले दोस्रो चौमासिकमा सम्पन्न योजना तथा कार्यक्रम र कार्यालयको सेवा प्रवाहमा केन्द्रित रहेर सार्वजनिक सुनुवाई हुन लागेको हो ।

स्थानीय तहले आफ्ना कार्यक्रम, बजेट तथा सेवा प्रवाहलाई पारदर्शी एवं थप प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान रहेको छ । जस अनुसार दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई गर्न लागिएको हो । कार्यक्रम मादी गाउँपालिकाको वडा नं. १० को थुम्सीकोटमा आयोजना गरिएको छ । सार्वजनिक सुनुवाई विहान ११ बजे मादी १० थुम्सीकोटमा हुने बताइएको छ ।

उक्त कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी र वडा नं. ८, ९, १०, ११ र १२ नं. वडाका अध्यक्ष तथा सेवाग्राही स्थानीय नागरिकहरुको सहभागिता रहनेछ । गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै आमा समूह, क्लव, विभिन्न संघ संस्थालाई पनि कार्यक्रममा सहभागी हुन आग्रह समेत गरेको छ ।

कार्यक्रमको सहजीकरण शुभ पाटी प्रा.लि.ले गर्दैछ । शुभ पाटीले वृत्तचित्र निर्माण, तालिममा सहजीकरण, प्रस्तावना लेखन, प्रतिवेदन लेखन, फोटो तथा भिडियो छायाकंन लगायतका कार्य गर्दै आएको छ ।

Facebook Comments