श्रीलंकामा भएको बम विस्फोट आफूले गराएको इस्लामिक स्टेटको दावी
श्रीलंकामा गएको आइतबार चर्च र होटलमा भएका श्रृंखलावद्ध बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । उक्त घटनामा ३ सय १० को मृत्यु भएको छ भने ५ सय जना घाइते छन् ।
इस्लामिक स्टेटको समाचारसंस्था अमाकले मंगलबार जारी गरेको बुलेटिनमा आफ्ना लडाकुहरूले वम विष्फोट गराएको उल्लेख गर्दै घटनाको जिम्मेवारी लिइएको छ । क्रिश्चियन र विदेशीहरूलाई आक्रमणको निशाना बनाइएको उल्लेख छ ।
घटनापछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र मंगलबार राष्ट्रिय शोक समेत मनाइएको छ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकको सामुहिक अन्तिम संस्कार गरिएको छ, जुन आइतबार भएका आक्रमणस्थल मध्येको एक हो ।
श्रीलंका सरकारले यो घटनामा स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शंकास्पद ४० जना लाई पक्राउ गरेको छ । धार्मिक अतिवादी संलग्न रहेको श्रीलंकाली सरकारले समेत आशंका गरेको थियो ।

