काठमाण्डाैमा सांसद निवासमा चाेरी
काठमाडौँमा एक सांसदको निवासबाट लाखौं रुपैयाँ बराबरको धनमाल चाेरी भएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित निवासबाट नगद र गरगहना चोरी भएको हो ।
सांसद गौतम बस्ने काठमाडौ महानगरपालिका वडा नम्बर १० देवीनगरमा रहेकाे फ्ल्याटमा चाेरी भएकाे हाे ।
संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गाैतमकाे निवास नजिकै सूचनाविभागकाे कार्यालय रहेकाे छ ।
गाैतमले बिहीबार दिउँसो ३ बजेदेखि ४ बजेको समयमा चोरी भएको हुन सक्ने बताउनुभयाे ।
सांसद गाैतमका अनुसार घरको ढोका फोरेर कोठाभित्र रहेको नगद तथा गरगहना चोरी भएको हाे ।
सांसद गौतमले २ तोला ५ आना बराबरका सुनका गहना (६ आनाको औठी, ५ आनाको टप, ५ आनाको तिलहरी र १ तोलाको मंगलसुत्र ) चोरी भएको जानकारी दिनुभयाे ।
त्यस्तै चाँदीको २१ तोलाको थाली, २.५ तोलाको दियो तथा नगद एकलाख १५ हजार गरी ३ लाख १९ हजार रुपैयाँ बराबरकाे धनमाल चोरी भएको हाे ।
प्रहरीले घटनास्थल पुगेर मुचुल्का तयार पारेर आवाश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

