हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली

गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, नया शक्तिका संयोजक डा.बाबुराम भट्टराई लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राष्ट्रपति भण्डारीले टुँडिखेलमा पुगेर दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सातै जनाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ । नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता श्रद्धाञ्जलीका लागि टुँडिखेल पुगेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यसैवीच नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका नेता तथा मन्त्री रवीन्द्र अधिकारीको निधनपछि देशले होनाहार एक नेता गुमाएको प्रतिकृया दिनुभयो । काठमाडौँको टुँडिखेलमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीसहित सातै जनालाई श्रद्धान्जली दिएपछि डा. भट्टराईले विकास र समृद्धिप्रति सकारात्मक सोच राख्ने युवा नेताको निधनले नेपाललाई नै क्षति पुगेको बताउनुभयो ।

Facebook Comments