गण्डकी प्रदेशमा चिनीयाँ लगानीमा गाई फार्म स्थापना गर्ने सम्झौता

गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि चीनले सहयोग गर्ने भएको छ । सहयोग अन्तर्गत नमूना गाईफार्म स्थापना गर्ने सम्वन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाईनिज एकेडेमी अफ एग्रीकल्चर साईन्सेस(सिएएमएस) ईन्जिनियरिङ्ग कम्पनीकाबीच सम्झौता भएको छ ।

नमूना गाईफार्म स्थापना गर्ने सम्वन्धि सम्झौतापत्रमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र सिएएमएसका प्रमुख ईन्जिनियर उ डेनसेङ्गले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा दुग्ध विकासको माध्यमबाट ग्रामीण गरीबी निवारण गर्न चीन सरकारको सम्पूर्ण लगानीमा सिएएमएसले चिनिया गाईको नमूना फार्म स्थापना गर्ने तथा आर्थिक, प्राविधिक र समन्वयको काम गर्ने उल्लेख छ ।

गण्डकी प्रदेशमा स्थापना गरिने फार्ममा चिनिया ‘होलिस्टेन फ्रिजायन’ जातको दैनिक ३५ लिटर दूध दिने गाइको बाच्छी दुई चरणमा गरेर चार हजारको संख्यामा ल्याईने सम्झौतामा उल्लेख छ । उक्त फार्मलाई गाईको स्रोत केन्द्रको रुपमा विकास गरी यहाँका स्थानीय जातका गाईको नश्ल सुधार गर्ने लक्ष गण्डकी प्रदेश सरकारले राखेको छ ।

फार्मका लागि आवश्यक करीब एक हजार हेक्टर (२० हजार रोपनी) जमिनको प्रवन्ध भने प्रदेश सरकारले गर्नुपर्नेछ । त्यसका साथै फार्मसम्म पुग्नको लागि बाटो, बिजुली तथा खानेपानीको व्यवस्था पनि सरकारले गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले जानकारी दिनुभयो ।
तनहुँ, गोरखा र लमजुङ्गका केही ठाउँमा फार्म राख्नको लागि सम्भाव्यता अध्ययन भईरहेको र स्थानीयबासीलाई फार्ममा शेयर सदस्यको रुपमा सहभागि गराएर उनीहरुको जमीन समेत प्रयोग गर्ने योजनामा प्रदेश सरकार लागिपरेको छ ।

मन्त्री थापाका अनुसार गाई फार्मका माध्यमबाट दूध र दूधका अन्य उत्पादनका साथै गाईका लागि आवश्यक घाँसबाट दाना उद्योग र गोबरबाट ग्यास उद्योग स्थापना गर्ने योजना रहेको छ ।

कार्यक्रममा सिएएमएसका प्रमुख युले नेपालको कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग गर्ने चीन सरकारको उद्देश्य अनुसार सम्झौता गरिएको बताउनुभयो ।
मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले चिनीयाहरुले दुग्ध क्षेत्रमा सहयोग गर्ने ईच्छा व्यक्त गरेपछि प्रदेशले दुग्ध विकास बोर्ड ऐन निर्माण गरेर नमूना फार्म स्थापनाको लागि काम अघि बढाएको जानकारी दिनुभयो । स्थानीय किसानलाई सदस्य बनाउँदै फार्म समुदाय मोडलमा लैजाने उहाँको भनाई छ ।

नेपालमा चिनिया गाई फार्म स्थापनाको लागि सन् २०११ मा पहिलोपटक छलफल शुरु भएको नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले जानकारी दिनुभयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल र फार्मलाईसँगसगै अघि बढाउने त्यतिबेलाको योजना रहेपनि विमानस्थल सबैको प्राथमिकतामा परेर काम अघि बढ्दा फार्म स्थापना पछि परेको उहाँको बुझाई छ ।

Facebook Comments