वडा नम्वर २१ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा महानगरपालिकाको न्यायिक समितिको कामले तिव्रता पाएको छ । समितिले महानगरमा न्यायिक इजलास, मेलमिलापककर्ता सुचिकृत र मेलमिलाकर्ता मार्फत विवाद समाधान गर्ने प्रक्रिया सुरु गरेको छ ।

यसका साथै वडामा मेलमिलाप केन्द्र स्थापनालाई पनि समितिले तिव्रता दिएको छ । वडा तहका विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले महागरका वडाभित्र मेलमिलाप केन्द्र स्थापना गर्ने क्रममा बुधबार पोखरा महानगरपाकिला वडा नं. २१ मा मेलमिलापक केन्द्र स्थापना गरिएको छ ।

पोखरा महानगरका उपप्र्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले मेलमिलाप केन्द्रको उद्घाटन गर्दै वडा तहका विवादलाई तत्काल समाधान गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको उल्लेन गर्नुभयो । सकेसम्म वडाबाटै विवाद समाधान होस् भन्ने चाहना आफूहरुको रहेको उहाँको भनाई छ ।

उहाँले अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रुपमा पर्ने ब्यवहारलाई कम गदै स्थानिय तहबाटै विवादको निरुपण र मेलमिलाप गराउने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरेको उल्लेख गर्नुभयो । न्यायिक समितिले दुवैलाई जिताउने गरि विवादको समाधान खोज्ने उहाँको भनाई छ ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका अधिकार क्षेत्र, मेलमिलापकर्ता छनोट लगायतका बारेमा जानकारी दिनुभएको थियो । वडा नम्वर २१ का अध्यक्ष खगराज आचार्यले कानुनभित्र रहेर न्याय सम्पादन गर्नुपर्ने बताउदै पक्ष, विपक्ष र समाज सबैले जितको महसुस गर्ने गरि मेलमिलाप गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट संयोजक मञ्जुदेवी गुरुङ र वडा अध्यक्ष आचार्यले हस्तान्तरण गर्नुभएको थियो । वडा नम्वर २१ का अध्यक्ष खगराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मेलमिलापकर्ता हर्कबहादुर रेग्मी, पूर्व गाविस अध्यक्ष कमलमोहन पौडेल लगायतले वडाका विवाद मिलाउन तयार रहेको बताउनुभयो ।

महानगरको न्यायिक समितिले सुचिकृत गरेको मेलमिलापकर्तामा वडा नम्वर २१ मा १० जना मेलमिलापकर्ता सुचिकृत भएका छन् । न्यायिक समितिले यसअघि वडा नम्वर ७, ३०, १३ मा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।

Facebook Comments