गाडीमा आगजनीप्रति पोखरा महानगरपालिकाद्वारा भत्सर्ना
पोखरा महानगरपालिका, शिक्षा महाशाखाको बा १ झ ५८७९ न. को निसान पिकअप भ्यानमा आगजनी भएको घटनाप्रति पोखरा महानगरपालिकाकाले ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयको पूर्वनिधारित कामको सिलसिलामा प्रयोग भइरहेको अवस्थामा शनिबार बिहान ९ः४५ बजेका्े समयमा पोखरा महानगरपालिका वडा नंं.–७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयको मुलगेट अगाडि गाडीमा आगजनी भएको थियो ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघले घटनाको जिम्मेवारी लिएको छ भने घटनामा संलग्न रहेको आशंकमा प्रहरीले ५ जनालाई गिरफ्तार गरेको जनाएको छ । सरकारी कामको सिलसिलामा गुडीरहेको सवारी साधनलाई रोकी चालकलाई बलजफ्ती बाहिर निकाली सवारी साधनमा आगो लगाई नागरिकले तिरेको करबाट आर्जित सरकारी सम्पत्तिमा क्षति पुर्याएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र उद्देश्य बमोजिम महानगरवासीलाई भरपर्दो सेवा सुविधा उपलब्ध गराउने कार्यमा महानगरपालिका निरन्तर लागिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । प्रवक्ता नेपालीका अनुसार पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा अन्तर्गत रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्तिका लागि लिखित परिक्षा सञ्चालन गर्नका लागि शिक्षा महाशाखा प्रमुख केन्द्राध्यक्षका रुपमा सहभागी हुने जाने क्रममा सो सवारी साधन प्रयोगमा रहेको थियो । घटनामा संलग्नलाई कानुन अनुसार कार्वाही गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

