विमानस्थलको नाम दिवंगत मन्त्री अधिकारीको नामबाट राख्न माग
पोखरा पर्यटन परिषद्ले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम रविन्द्र अधिकारी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको छ । परिषद्ले शनिबार श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजना गरी निर्माणाधीन विमानस्थलको नाम रविन्द्र अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो । पर्यटन क्षेत्रको विकास तथा पोखरामा विमानस्थल निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण अधिकारीको सम्मानमा विमानस्थलको नाम दिवंगत मन्त्री रवीन्द्र अधिकारीकै नामबाट नामाकंरण गर्न परिषद्ले माग गरेको हो । यसअघि पनि विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा विमानस्थलको नाम अधिकारीको नामबाट राख्न आवाज उठाउँदै आएका थिए ।

