मादी गाउँपालिका ९ मा उद्घोषण तालिम सम्पन्न
मादी गाउँपालिका ९ मा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत श्री मिजुरे सामाजिक महिला उद्यमी सहकारी संस्थामा आवद्ध महिलाहरुलाई उद्घोषण तालिम प्रदान गरिएको हो ।
तालिमका अवसरमा बोल्दै मादी गाउँपालिका वडा नं. ९ का अध्यक्ष तोरण बहादुर गुरुङले नेपाली समाजमा प्रचलित उखान ‘बोल्नेको पिठो विक्छ, नबोल्नेको चामल पनि विक्दैन’ भनेजस्तै समाजमा पनि आफ्ना विचार, टोल समाजमा समस्या निर्धक्क भएर राख्न सक्नुपर्ने बताउनुभयो ।
समाज विकासका लागि आफ्ना टोल समुदायमा रहेका विभिन्न समस्या समाधानका लागि महिलाहरुले अगुवाई गर्नुपर्ने बताउनुभयो । कुनै बैठक, सभा समारोह या अनौपचारिक कार्यक्रममा समेत आफ्ना विषय निर्धक्क भएर राख्न सकेमा आफ्नो व्यक्तित्वका साथै समाज विकासमा समेत सहयोग पुग्ने उहाँको भनाई थियो ।

तालिममा सहभागी महिला दिदीबहिनीहरुले आगामि आर्थिक बर्षको बजेटमा समेत यस्ता तालिम तथा महिलाहरुको क्षमता अभिबृद्धि हुने खालका कार्यक्रम राख्न माग गरेपछि अध्यक्ष गुरुङले कार्यक्रम र बजेट व्यवस्था गर्ने बताउनुभयो ।

तालिममा शुभ पाटीका तर्फबाट घनश्याम पाण्डे, राज शर्मा र विश्वराज सुवेदीले सहजीकरण गर्नुभएको थियो । उद्घोषण भनेको के हो ? यसले व्यक्तिको व्यक्तित्व विकासका लागि गर्ने सहयोग, उद्घोषण कला, नेतृत्वको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
साथै तालिमका अवसरमा कुनै पनि औपचारिक कार्यक्रम सञ्चालन गर्ने तरिका, श्रद्धाञ्जली सभा, कार्यक्रमको उद्घाटन र समापन सत्र सञ्चालन गर्दा उद्घोषकले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो ।
तालिमपछि सहभागीहरुले आफूहरुमा मञ्चमा तथा कुनै पनि सभा समारोहमा सहभागी भएर आफ्ना कुरा राख्न सक्ने आत्मविश्वासमा विकास भएको बताएका थिए । यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने उनीहरुको भनाई थियो ।

प्रशिक्षक घनश्याम पाण्डेले आफू आवद्ध संस्था शुभ पाटीले विभिन्न प्रकारका तालिम, परियोजनाको प्रस्ताव तथा प्रतिवेदन लेखन, श्रव्य दृष्य सामग्री निर्माण, वृत्तचित्र तथा म्यूजिक भिडियो निर्माण, कार्यक्रममा सहजीकरण तथा व्यवस्थापन लगायतका कार्य गर्ने जानकारी दिनुभयो । शुभ पाटी प्रा.लि.ले शुभ न्यूज डट कम वेभसाइट सञ्चालन गरिरहेको पनि उहाँले सो अवसरमा जानकारी गराउनुभएको थियो ।

