सहकारी बैंकद्वारा तनहुँका दुई सहकारी पुरस्कृत
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीले राज्यले लिएको समृद्धिको अभियान सफल पार्नका लागि सहकारी क्षेत्रसंगको समन्वयको विकल्प नभएको बताउनु भएको छ । समृद्धिका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग जरुरी छ, त्यसका लागि सहकारी नै उत्तम विकल्प भएको उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय तनहुँले सोमबार आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
सहकारीलाई समाजवाद उन्मुख अर्थतन्त्रको तीन मध्ये एक आधार स्तम्भ संविधानमा उल्लेख भए पनि व्यवहारिक रुपमा सहकारी क्षेत्रलाई प्राथमिकता नदिइएको उहाँको गुनासो थियो ।
उहाँले विपन्न तथा गरिवी निवारण कोषको रकम सहकारी बैंक मार्फत परिचालन गरे लक्षित वर्गमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था, आगामी योजना र गरिवी निवारणमा सहकारी बैंकका कार्यहरुका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति तनहुका सहसंयोजक पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष श्रीप्रसाद भट्टराई, वचत तथा ऋण सहकारी संघका अध्यक्ष देवी बहादुर बस्नेत, उपभोक्ता सहकारी संघका अध्यक्ष राजेन्द्र केशरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक अमरबहादुर कुँवरको अध्यक्षता, सदस्य प्रदिपराज अधिकारीको स्वागत र शाखा प्रमुख उपेन्द्र दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा दमौली शाखामा आर्थिक वर्ष २०६४÷०६५ मा उत्कृष्ट कारोबार गर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित शुभकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने ब्यास नगरपालिका –१ स्थित छाब्दी बराही सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो ।
बैंकले केन्द्रीय स्तरमा वार्षिक साधारणसभामा हरेक प्रदेशबाट वचत तथा ऋण र अन्य समुहबाट एक एक वटा, महिला लगायतबाट पुरस्कृत गर्ने गर्छ भने शाखा स्तरमा उत्कृष्ट र नियमित गरी हरेक शाखामा कारोबार गर्ने २ वटा सहकारीलाई पुरस्कृत गर्दै आइरहेको छ ।
यसैबीच सोही कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको १५ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष के.बी. उप्रेती र सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीलाई जिल्ला सहकारी संघ लिमिटेड तनहुका तर्फबाट सम्मान गरिएको छ ।
सहकारी क्षेत्रको एक मात्र बैंकको अध्यक्ष र सञ्चालकमा निर्वाचित उप्रेती र जिसीलाई तनहुमा रहेका अन्य विषयगत संघ र सहकारी पत्रकार क्लव तनहुका तर्फबाट पनि सम्मान गरिएको थियो ।

