गन्तब्य बेगनासको टोली पूर्वमा, पर्यटनमा सहकार्यको प्रस्ताव

होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथले धरान होटल एसोसियसनसँग सहकार्यको प्रस्ताव गरेको छ । गन्तव्य बेगनासको कार्यक्रम लिएर धरान पुगेका व्यवसायीहरुसँग होटल तथा रेस्टुरेन्ट लेखनाथ एशोसियसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले धरानसँग पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको हो । उक्त प्रस्तावलाई धरान होटल एसोसियसनले सकारात्मक भनेको छ ।

लेखनाथले राखेको प्रस्तावमा आपसमा अनुभव साटासाट गर्ने, हरेक वर्ष दुवै सहरबाट एक अर्काको क्षेत्रमा भ्रमण गर्ने, व्यवसायीक विकास र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने, धरान पुगेका पर्यटकलाई लेखनाथ र लेखनाथ आएका पर्यटकलाई धरान जान सिफारिस गर्ने, दुवै ठाउँका आन्तरिक पर्यटकलाई एक अर्काकोमा जाँदा १५ प्रतिशत छुट दिने लगायतका सुविधा प्रस्ताव गरिएको छ ।

होटल एसोसिएसन धरानका अध्यक्ष सरोज भट्टराईले लेखनाथको प्रस्ताव सकारात्मक भएको बताउँदै प्रस्तावलाई कार्यसमितिमा लगेर अनुमोदन गराउने बताउनुभयो । धरान होटल एसोसिएसनका पूर्व अध्यक्ष रमेश श्रेष्ठले पोखरा र पोखराका पर्यटकीय संघसस्थाहरुसंग सहकार्य गर्न आफूहरु सन्भै तयार रहेको उल्लेख गर्नुभयो ।

सोमबार धरानमा आयोजित छलफल तथा पत्रकार भेट कार्यक्रममा बोल्दै लेखनाथका पर्यटन व्यवसायीहरुले पर्यटनको अथाह सम्भावना भएपनि बेगनास र रुपाताल क्षेत्र ओझेलमा परेको भन्दै रुपा तथा बेगनासमा आएर सुन्दरताको स्वाद लिन आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै भ्रमण टोली संयोजक एवं बेगनास होटल तथा रेस्टुरेन्ट एशोसिएसनका पूर्व अध्यक्ष दामोदरभक्त थापाले बेगनास र रुपा क्षेत्र बत्ति मुनिको अँध्यारो भएको भन्दै प्रचारका लागि पूर्व आएको बताउनुभयो । रुपा र बेगनास क्षेत्र प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर भएको उहाँको भनाई थियो ।

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलियाले पोखरा भित्र पर्ने बेगनास र रुपाताल क्षेत्र अत्यन्त मनमोहक भएपनि धेरैजसो पर्यटकले त्यसको भेउ नपाउने गरेकाले प्रवद्र्धनात्मक कार्यक्रम गर्न पर्यटन वोर्डले सघाएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश सरकारले सन २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा घोषणा गरेर अगाडि बढेकाले पनि त्यही कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्धनकै लागि कार्यक्रम गरिएको उहाँको भनाई थियो ।

धरान उपमहानगरका पूर्व मेयर मनोजकुमार मेयाङ्बोले पोखरा महानगर र धरान उपमहानगर बीच विक्रम सम्वत २०५७ मा भगिनी सम्बन्ध स्थापित भएपनि बिचमा जनप्रतिनिधि नहुँदा सुस्ताएको उल्लेख गर्नुभयो । उहाँले पोखरा, काठमाडौं, लुम्विनी, गुल्मी, लगायतका क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा प्रचार गरिएपनि पूर्वाञ्चलको प्रचारप्रसारमा पर्यटन वोर्डले बेवास्ता गरेको बताउनुभयो ।

धरान पर्यटन बोर्ड समिति सदस्य एलिना मगरले ओझेलमा परेको लेखनाथ क्षेत्र र धरान क्षेत्रका बीचमा आगामि दिनमा सहयकार्य गरेर अगाडि बढ्दा दुबैलाई फाइदा पुग्ने बताउनुभयो ।

‘गन्तब्य बेगनास’ अभियान कार्यक्रम अन्तर्गत होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथले मंगलबार झापाको बिर्तामोडका पर्यटन व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको छ । पूर्वाञ्चल भ्रमण टोलीमा होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष तथा भ्रमण टोली संयोजक दामोदरभक्त थापा, एसोसियसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कोषाध्यक्ष निलकुमारी थापामगरलगायतका होटल तथा रेष्टुरेण्ट व्यवसायी, पचभैया होमस्टेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता छ ।

Facebook Comments