अरामको कम्पनी विश्वकै बढी मुनाफा कमाउन सफल
साउदी तेल उत्पादक कम्पनी अरामकोले अन्य कम्पनीकाे तुलनामा बढी मुनाफा कमाउन सफल भएकाे छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो ।
साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्तभन्दा पनि बढी भएको समाचारमा उल्लेख छ । २०१८ मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १ सय ६ अर्ब डलर पुगेको थियो । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंकमध्येको एक हो । एक्सन मोबिल अमेरिकाको सर्वाधिक ठुलो तेल कम्पनी हो । यो कम्पनीले गत वर्ष २०.८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो ।
साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलो पटक आफ्नो वित्तिय नजिता घोषणा गरेको छ । २०१८ मा अरामकोको आम्दानी ३५५.९ अर्ब डलर रहेको थियो ।
२०१८ को डिसेम्बरको अन्त्यसम्ममा कम्पनीसँग ४८.८ अर्ब डलरको नगद संचिती रहेको थियो । यो २७ अर्ब डलरको ऋणको तुलनामा धेरैले बढी हो । २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतको वृद्धि भएपछि यसले अरामकोको नाफामा पनि वृद्धि भएको हो ।
याे समाचार काराेबारमा प्रकाशित छ ।

