महाशिवरात्री भगवान शिवको पुजा आराधना गरी मनाईंदै
वैदिक सनातन हिन्दू धर्मावलम्बीले मनाउने विशेष चाडपर्वमध्येमा पर्ने शिवरात्री आज देशैभर मनाईंदैछ । फागुनकृष्ण चतुर्दशीका दिन हिन्दुधर्मावालम्वील भगवान शिवको पुजा आराधना गरी महाशिवरात्री पर्व मनाउने गर्दछन् ।
नदी, कुण्ड र तलाउमा स्नान गरी शिव मन्दिरमा पुगेर श्रद्धाभक्तिका साथ आराध्यदेव शिवको पूजाआराधनाका साथ शिवरात्री पर्व मनाइन्छ । शिव पुराणमा शिवको उत्पत्ति रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको बर्णन गरिएको छ ।
प्राणी जगतमा धार्मिक भावना जागृत गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रुपमा शिवरात्रीलाई लिने गरिन्छ भने माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको जगत कल्याण गर्ने तत्वका कारण पालुवा हाल्न शुरु हुने विश्वास समेत गरिन्छ ।
महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास समेत रहीआएको छ । प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकिर्तनका साथ सोही आगोमा प्रसाद बनाई परिवार तथा समूहमा ग्रहण गर्ने प्रचलन रहेको छ ।
शिवरात्रीको अवसरमा काठमाण्डौको पशुपतिनाथ लगायत देशैभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ ।

