प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार कविर र समिरलाई
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई प्रदान गरिने भएको छ । पुरस्कार योग्य प्रतिभा छनोट समितिको बैठकको निर्णयलाई युनियनको कास्की शाखाकोे बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।
पुरस्कार राशी ३५ हजार पाँच सय ५५ रुपैयाँ दोसल्ला र सम्मान पत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो । यस अघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको हो ।
नेपाल प्रेस युनियन कास्कीको अधिवेशनमा उक्त पुरस्कारबाट राणा र शाहलाई संयुक्त रुपमा सम्मान गरिने प्रेस युनियन कास्की अध्यक्ष शिरोमणि बरालले जानकारी दिनुभयो । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श अनुरुप न्यूनतम् १५ वर्ष पत्रकारिता गरेको र युनियनको सुदृढिकरणमा योगदान दिएको पत्रकारलाई उक्त पुरस्कार दिने व्यवस्था गरिएको छ ।
पुरस्कार प्राप्त गर्नका लागि युनियनको सदस्य रहेर निरन्तर १५ वर्ष बिताएका हुनुपर्ने व्यवस्था पनि गरिएको छ । युनियनको कास्की शाखा अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न बैठकले छनोट समितिको निर्णयलाई अनुमोदन गरेको युनियनका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
छनौट समितिको संयोजकमा नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पत्रकार गंगाधर पराजुली र सदस्यहरुमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयनाथ भण्डारी, डिएलए कास्कीका अध्यक्ष विष्णुप्रसाद मरासिनी, चन्दादाता नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य पुष्पराज पराजुली, संस्थापक कार्यसमितिको तर्फबाट नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी साथै युनियनका कास्की अध्यक्ष शिरोमणि बराल र सचिव प्रकाशचन्द्र सापकोटा रहेका थिए ।

