सोनाम ल्होछारमा राष्ट्रपति, प्रधानमन्त्रीबाट शुभकामना


राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिनेमा जोड दिनुभएको छ । राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमङ्गका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । सोनाम ल्होछार २८५५ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको आँैल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होछारका अवसरमा आज शुभकामना सन्देश दिँदै विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताउनुभएको छ । नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको चर्चा गर्दै मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछार का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । देउवाले जारी गर्नुभएको सन्देशमा विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख छ ।

Facebook Comments