प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट पत्रकार रवीन्द्रनाथ बास्तोला सम्मानित
प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार रवीन्द्रनाथ बास्तोलालाई सम्मान गरिएको छ ।
स्वर्गीय दयाशंकर पालिखेका परिवारद्वारा स्थापित तथा पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित उक्त पुरस्कारबाट बास्तोलालाई सम्मान गरिएको हो ।
पोखरामा मंगलबार आयोजित एक विशेष समारोहमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान पत्र, दोषल्ला अर्पण गर्दै बास्तोलालाई सम्मान गर्नुभयो । विगत २३ वर्षदेखि पत्रकारितामा क्रियाशील रहनुभएका बास्तोला पोखराबाट प्रकाशित हुने हिमदूत राष्ट्रिय दैनिकको प्रधान सम्पादक हुनुहुन्छ ।
पुरस्कारको राशी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, दोषल्ला र सम्मान पत्र रहेको छ । यसअघी ३३ हजार ३ सय ३३ रुपैयाँ राशीको यो पुरस्कार यस वर्षदेखि २२ हजार २ सय २२ रुपैयाँ थपेर ५५ हजार ५ सय ५५ रुपैयाँको बनाइएको हो ।
पत्रकारिता पुरस्कार ग्रहण गर्दै बास्तोलाले पुरस्कारले आफूलाई पत्रकारितामा लागिरहनका लागि ऊर्जा थपेको बताउनुभयो । उहाँले पुरस्कार राशीलाई वीउ पूँजीको रुपमा लिदैं आफूले समेत रकम थप गरेर २५ हजार ५ सय ५५ रुपैयाँ बराबरको शिक्षा पत्रकारिता पुरस्कारको घोषणा गर्नुभयो । आफ्ना बुबा आमाको नामबाट वितरण हुने उक्त पुरस्कारको सञ्चालन पनि नेपाल पत्रकार महासंघ कास्कीले गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले साउनको अन्त्यसँगै पत्रकारले न्यूनतम पारिश्रमिक पाईनँ भन्ने अवस्थाको अन्त्य गर्ने सरकारले प्रतिबद्धता जनाएकाले अबदेखि पत्रकारले त्यस्तो पीडा नपाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नेपाली पत्रकारिताको संरक्षण, सभ्य र स्वतन्त्र पत्रकारिताको ज्ञारेन्टी हुनेगरी मात्र मिडिया काउन्सिल विधेयक ल्याउन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, पालिखे परिवारका सदस्य तथा स्वर्गीय दयाशंकर पालिखेका बुहारी सुनयना पालिखे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वर्गीय दयाशंकर पालिखे र पुरस्कृत व्यक्तित्व रवीन्द्र बास्तोलाको परिचय प्रतिभा छनौट समितिका संयोजक नारायण कार्कीले गराउनुभएको थियो ।
पोखरेली आमा उत्तराकुमारीको नाममा ‘नारी सम्मान’ घोषणा
यसैबीच पालिखे परिवारले ‘आमा उत्तराकुमारी पालिखे नारी सम्मान’ कोषको घोषणा गरेको छ । स्वर्गीय पोखरेली आमा उत्तराकुमारी पालिखेको स्मृतिमा पालिखे परिवारले सो पुरस्कार अर्पण गर्ने भन्दै अक्षयकोष घोषणा गरेको हो । स्वर्गीय दयाशंकर पालिखेकी धर्मपत्नी उत्तराकुमारी पालिखेको ६ महिना अघि निधन भएको थियो ।
स्वर्गीय दयाशंकर पालिखे पत्रकारिता सम्मान २०७६ अर्पण समारोहमा बोल्दै पालिखे परिवारकी सदस्य सुनयना पालिखेले सम्मानका लागि रु २ लाख ५० हजारको अक्षयकोष घोषणा गर्नुभएको हो । अक्षयकोषको व्याजबाट समाज रुपान्तरण र परिवर्तनको पक्षमा योगदान दिने एक जना महिलालाई वार्षिक रुपमा २५ हजार नगदसहित सम्मान पत्र र दोषल्लाले सम्मान गर्ने र उक्त सम्मानको सञ्चालन रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले सञ्चालन गर्ने बताइएको छ ।

